INSEC Online

📅 २०८३ जेष्ठ २२

राजविराजमा छोरा भन्दा छोरी कम

राजविराजमा छोरीको तुलनामा छोराको जन्मदर्ता दर बढी छ । राजविराज नगरपालिकाको एक वर्षको तथ्याङ्क अनुसार छोरा जन्मने दर छोरीको भन्दा बढी रहेको छ । राजविराज नगरपालिकाको पञ्जिकरण शाखाको तथ्याङ्क हेर्दा ९ सय ३४ छोराको जन्म भएको छ भने ७ सय २० छोरी जन्मिएका हुन् ।

जम्मा १६ ओटा वडा रहेको नगरपालिकाको वडा नं ३, ५, ७ र १२ मा छोरी जन्मिएको तथ्याङ्क बढी छ भने अन्य १२ ओटा वडामा छोराले बढी जन्म लिएको पञ्जिकरण शाखाका एम.आई.एस. अपरेटर रविन्द्रकुमार साहले जानकारी दिनुभएको छ ।

२०८० वैशाख १ देखि चैत मसान्तसम्म वडा नं १ मा १ सय २४ पुरुष र ८६ महिला, वडा नं २ मा ३८ पुरुष र २० महिला, वडा नं ४ मा ५३ पुरुष र ३९ महिला, वडा नं ६ मा ६५ पुरुष र ३८ महिला, वडा नं ८ मा ३३ पुरुष र १६ महिला, वडा नं ९ मा १ सय ३३ पुरुष र १ सय १ महिलाको जन्म दर्ता भएको छ ।

यस्तै वडा नं १० मा १ सय ३ पुरुष र ८१ महिला, वडा नं ११ मा ५१ पुरुष र ४० महिला, वडा नं १३ मा ६८ पुरुष र ५९ महिला, वडा नं १४ मा ४७ पुरुष र २७ महिला, वडा नं १५ मा ५९ पुरुष र ४६ महिला तथा वडा नं १६ मा ३५ पुरुष र २३ महिलाको जन्मदर्ता भएको छ ।

छोरीको सङ्ख्या थोरै मात्रले बढी भएको वडामध्ये वडा नं ३ मा १८ पुरुष र २१ महिला, वडा नं ५ मा १० पुरुष र १४ महिला, वडा नं ७ मा ४३ पुरुष र ४९ महिला तथा वडा नं १२ मा ५४ पुरुष र ६० महिला जन्मिएको देखिन्छ ।

पछिल्लो समय दम्पत्तिहरूमा छोराको चाहना बढ्दै गएको र छोरीलाई भ्रुण हत्या गर्ने क्रम समेत बढेको स्वास्थ्यकर्मी तथा मानव अधिकारकर्मीहरू बताउछन् । सहजै गर्भ पहिचान गर्न सकिने र गर्भपतन समेत गर्न सकिने भएका कारण छोरी भए गर्भपतन गराई छोरा राख्ने प्रवृत्तिका कारण छोराहरू जन्मने दर बढेको हो । महिला अधिकारकर्मी सुष्मा गुप्ताले शिक्षित आमा बुवाले समेत छोरी भन्दा छोराको चाहना बढी राखेको हुँदा छोराको जन्मदरमा वृद्धि भएको बताउनु भयो । ‘हाम्रो समाजमा अझै पनि छोराको चाहना बढी छ, उहाँले भन्नुभयो “छोरी अर्काको घरमा जाने र बुढेसकालमा छोराले पाल्ने सोचका कारण पहिलो बच्चा छोरी भएपनि दोस्रो बच्चा भने पहिचान गरेरै छोरा राख्ने प्रचलन बढेको छ ।” अबैधानिकरुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले पनि जन्मिएका छोरीको सङ्ख्या कम भएको हो । जन्मेपछि पनि छोराले उचित स्याहार र अधिकार पाउने तर छोरीले जन्मदर्ता लगायतको अधिकारमा समेत उपेक्षित हुनुपर्ने अवस्था रहेको गुप्ताले बताउनु भयो ।

सामान्यतया प्रकृतिमा छोरा भन्दा बढी छोरी जन्मन्छन् । विश्वभरमा गरिएको तथ्याङ्क हेर्दा १ सय छोरा जन्मदा १ सय ५ छोरीको जन्म हुन्छ । नेपालमा पनि छोरा भन्दा छोरी जन्मने सङ्ख्या बढी छ । तर, पछिल्लो समय स्वास्थ्य क्षेत्रमा भएको नयाँ/नयाँ प्रविधिको विकाससँगै मधेस प्रदेशमा यो प्राकृतिक नियम उल्टिएको छ ।

नेपालको जनसङ्ख्या अनुसार अन्य ६ प्रदेशमा पुरुष भन्दा महिला बढी देखिए पनि पछिल्लो समय मधेस प्रदेश र मधेसका जिल्लामा महिलाको सङ्ख्या कम देखिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशमा ३० लाख ६५ हजार ७ सय ५१ पुरुष र ३० लाख ४८ हजार ८ सय ४९ महिलाको जनसङ्ख्या रहेको छ । कोशी प्रदेशमा २४ लाख १७ हजार ३ सय २८ पुरुष र २५ लाख ४४ हजार ८४ महिला, बागमती प्रदेशमा ३० लाख ४८ हजार ६ सय ८४ पुरुष र ३० लाख ६८ हजार १ सय ८२ महिला, गण्डकी प्रदेशमा ११ लाख ७० हजार ८ सय ३३ पुरुष र १२ लाख ९५ हजार ५ सय ९४ महिला, लुम्बिनी प्रदेशमा २४ लाख ५४ हजार ४ सय ८ पुरुष र २६ लाख ६७ हजार ६ सय ७० महिला, कर्णाली प्रदेशमा ८ लाख २३ हजार ७ सय ६१ पुरुष र ८ लाख ६४ हजार ६ सय ५१ महिला तथा सुदुर पश्चिममा १२ लाख ७२ हजार ७ सय ८६ पुरुष र १४ लाख २१ हजार ९ सय ९७ महिलाको जनसङ्ख्या रहेको छ ।

पछिल्लो समय भ्रुणको लिङ्ग पहिचान गरी छोरी भए गर्भपतन गराउने भएकाले छोरा बढी जन्मिएका हुन् । गर्भपतनले कानुनी मान्यता पाएपछि र नेपालमै भ्रुणको लिङ्ग पहिचान गर्न सकिने प्रविधिहरू भित्रिएपछि यस्तो देखिएको हो । नेपालमा सुरक्षित गर्भपतनले मान्यता नपाएको अवस्थामा पनि मानिसहरू छिमेकी मुलुक भारत गएर भ्रुणको लिङ्ग पहिचान गरी गर्भपतन गराउने गर्छन् । पहिले थोरै मानिसको मात्रै त्यहाँसम्म पुग्ने पहुँच हुन्थ्यो । अहिले नेपालको गाउँ/गाउँमा सुरक्षित गर्भपतन सेवा पुगेको छ ।

जिल्लाका विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा सुरक्षित गर्भपतनको सुविधा छ । तर मानिसहरू अबैधानिक रुपमा भ्रुण परीक्षण गरी गर्भपतन गर्नेहरू बढिरहेका छन् । राजविराजका औषधि पसले रामलखन यादवका अनुसार कतिले असुरक्षित गर्भपतन गरे भन्ने तथ्याङ्क नहुने गरेपनि छोरी कम जन्मने तर छोरा बढी जन्मनेको प्रमुख कारण लिङ्ग पहिचानलाई लिन सकिन्छ ।

कानुन बमोजिम १२ हप्तासम्मको भ्रुणलाई मात्र गर्भपतन गराउन सकिन्छ । तर, भ्रणको लिङ्ग पहिचान गरेर गर्भपतन गराउन पाइदैन । भु्रणको लिङ्ग पहिचान गरी गर्भपतन गराउने चिकित्सक र महिला दुबैलाई कारवाही गरिने कानुनी व्यवस्था छ । यति हुँदा हुँदै परिवार र समाजबाट छोरा जन्माउनकै लागि दिइने दबाब र मानसिक यातनाले गर्दा महिला आफै छोरा जन्माउन चाहन्छन् ।

“पहिलो बच्चा छोरी भएपनि दोस्रो बच्चा भने पहिचान गरेरै छोरा राख्ने प्रचलन बढेको छ ।” लाइफ नेपालकी सप्तरी संयोजक रञ्जना चौधरीले भन्नुभयो– “दोस्रो बच्चा पनि छोरा भए सहजै स्विकार्ने समाजले अझै छोरीलाई स्विकार्न नसक्नु चिन्ताको विषय हो ।” शहरी क्षेत्रमा रहेका शिक्षितहरूको परिवारमा छोरी भन्दा बढी छोरा जन्मिएको देखिएको छ । “गर्भैमा सकेपछि छोरी कम भएको हो । छोरा र छोरीबीचको अन्तर घट्दै जानु अत्यन्तै चिन्ताको विषय हो” मुक्ति नेपाल सिरहाकी कार्यकारी निर्देशक श्यामकुमारी साहले भन्नुभयो, ‘यसबाट चेतनाको स्तर उठेका र शिक्षित महिला नै छोरा जन्माउन चाहेको देखिन्छ ।’ राज्यले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने उहाँले बताउनु भयो ।

अन्य

भिडियो