लिखु तामाकोशी गाउँपालिका–१ दुरा गाउँका डम्बरबहादुर बराईलीकी पत्नी २८ की सबिता सुनुवारको असुरक्षित तरिकाले घरमै सुत्केरी गराउँदा वैशाख ४ गते मृत्यु भएको छ ।
घर नजिकै स्वास्थ्य चौकी भए पनि परिवारका सदस्यले सुनुवारलाई घरमा नै सुत्केरी गराएका थिए । बिहान चार बजे बच्चा जन्माएकी सुनुवारको अत्यधिक रक्तश्राव भएर बेहोस भएपछि बिहान सात बजेतिर स्वाथ्यकर्मीलाई खबर गरेका थिए । तर स्वास्थ्यकर्मी घरमा पुग्दा उहाँको मृत्यु भइसकेको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिनुभयो ।
गाउँकै स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराएकी ती महिलाको स्वास्थ्यमा समस्या भएकोले स्वाथ्यकर्मीले सुत्केरी हुन मन्थली वा रामेछाप अस्पताल जान सुझाव दिएको भए पनि परिवारले लापरबाही गर्दा मृत्यु भएको तामाङले बताउनु भयो । ‘कम्तीमा सुत्केरी गराउन गाउँकै स्वास्थ्य संस्थामा ल्याएको भए पनि ज्यान बच्ने थियो, कसैलाई खबर नै नगरी घरमा नै सुत्केरी गराउँदा महिलाको ज्यान गयो’, तामाङले भन्नु भयो ।
उक्त वडामा सुत्केरी हुँदा महिलाको मृत्यु भएको धेरै वर्ष पछिको पहिलो घटना भएकाले यस विषयमा छानबिन गर्न गाउँपालिका स्तरीय समिति गठन गर्न लागिएको जानकारी दिनुभयो ।
‘घटना कसको लापरबाहीको कारण भएको हो, परिवारका सदस्यले किन कसैलाई खबर गरेनन्, सुत्केरी गराउन किन स्वास्थ्य संस्थामा लगिएन भन्ने लगायतको विषयमा छाबिन गरी फेरि यस्ता घटना हुन नदिन छानबिन समिति गठन गर्ने तयारी भइरहेको तामाङले बताउनु भयो ।
जिल्ला जन स्वास्थ्य कार्यालयका अधिकृत सुमन मोक्तानका अनुसार बिगत तीन वर्षमा रक्तश्राव भएर सुत्केरी महिलाको मृत्यु भएको यो पहिलो घटना हो ।