INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

कपिलवस्तु नगरपालिकाका मेयर ४६ वर्षीय सुदिप पौडेलमाथि दुर्व्यवहार गरेको आरोपमा सोही नगरपालिकाकी उपमेयर ३८ वर्षीया सुनिता गुप्ता विरुद्ध ०८१ वैशाख ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिर्ता भएको छ ।

कपिलवस्तु नगरपालिकाको सभाहलमा १५ औँ नगरसभाको बैठक सञ्चालन भइरहेको अवस्थामा नगर उपप्रमुखले पूरक विनियोजन विधेयक २०८० बैठकमा पेश गर्ने क्रममा अचानक उत्तेजित भई बैठकका अध्यक्ष तथा नगर प्रमुख सुदिप पौडेललाई जुत्ता प्रहार गरी दुर्व्यवहार गरेको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले बताउनु भयो ।

उपमेयर गुप्ताले निर्वाचित भए पश्चात लगातार विवादित बन्दै निर्वाचित प्रतिनिधिलाई समेत काम कारवाहीमा असहजता पैदा गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिनुभयो । सुशासन कायम गर्ने निहुँमा नगरका सबै शाखा, उपशाखाहरूमा हुने काममा रोकावट पैदा गर्ने, अवरोध सिर्जना गर्ने गरेको नगरपालिकाका कर्मचारीहरूको भनाई छ ।

पाँच महिना ढिलो गरी सञ्चालन भएको कपिलवस्तु नगरपालिकाको नगरसभा वैशाख ४ गतेका लागि आव्हान गरिएको थियो । १५ औँ नगरसभा चलिरहँदा उपमेयर सुनिता गुप्ताले मेयर सुदीप पौडेलमाथि दुर्व्यवहार गरे पनि कार्यालयका पदाधिकारी, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्य लगायत सबैको उपस्थितीमा कपिलवस्तु नगरपालिकाले १५ औँ नगरसभा सम्पन्न गरेको छ ।

सभा सञ्चालन गर्ने मुख्य उत्तरदायित्व नगर उपप्रमुखकै रहने कानुनी प्रावधान छ । यद्यपि, प्रावधान बमोजिम पुस महिनामा नगरसभा सञ्चालन गर्न उपमेयर नै बारम्बार बाधक बनेपछि वैशाख ४ गतेलाई सभा हुने मिति तय गरिएको थियो । सभा सञ्चालनसँगै नगरका काम कारवाही, कार्यसम्पादनमा जनप्रतिनिधिदेखि कर्मचारी सम्मलाई दोषी करार गर्दै उपमेयर गुप्ताले नगरसभामै मेयर पौडेलमाथि दुर्व्यवहार गर्नु गलत भएको भन्दै नगरका १२ ओटै वडाका वडा अध्यक्षहरूले दुख व्यक्त गरेका छन् ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले नगरसभा जस्तो गरिमामय र संवेदनशील स्थानमा आफूमाथि व्यक्तिगत आक्रोश पोख्नु सिङ्गो नगरपालिकाको गरिमामा आँच आउने कार्य भएको बताउनु भयो । केही महिना अघि पनि कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै नगरपालिकाका कर्मचारीहरूले पेनडाउन गरेर बिरोध जनाएको उहाँले उल्लेख गर्नुभयो ।

उपमेयरको व्यवहारका कारण न्यायिक समितिका सदस्यहरूले राजिनामा दिएका छन् । वडाध्यक्षद्वय मोहनलाल शर्मा र रामगोपाल यादवले राजिनामा दिनुभएको छ । उपमेयरले गैरजिम्मेवार प्रकृतिको काम गरेको र आफूलाई असहज लागेर समितिबाट राजिनामा दिएको मोहनलाल शर्माले बताउनु भयो ।

यसैबीच, नगरसभाले महत्वपूर्ण तीन ओटा विधेयक पारित गरेको छ । विनियोजन ऐन, २०८० लाई संशोधन समेत गर्न बनेको पुरक विनियोजन विधेयक, २०८०, अनुगमन कार्यविधि, २०८० र घर नक्सालाई थप व्यवस्थित गर्न तथा पुनः अभिलेखीकरण गर्न बनेको विधेयक, २०८० पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले जानकारी दिनुभयो ।

अन्य

भिडियो