इलाम निर्वाचन क्षेत्र न.२ मा निर्वाचन मिति नजिकिएसँगै निर्वाचन आचारसंहिता विपरितका गतिविधि हुन थालेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।
नेकपा एमाले चुलाचुली गाउँ कमिटिले निर्वाचन आचारसंहिता, २०७९ विपरित चुलाचुली गाउँपालिका-३ को पेल्टीमारी फुटबल क्लबलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
उपनिर्वाचनमा मतदान गर्न आह्वान गर्दै ०८१ वैशाख १ गते २५ हजार रुपियाँको चेक फुटवल क्लवलाई दिइएकोे छ ।
फुटबल क्लबलाई आर्थिक सहयोगको नाममा निर्वाचन आचारसंहिता विपरित काम गरिएको आरोपमा स्थानीयले विरोध जनाएको स्थानीय देवीप्रसाद पौडेलले बताउनु भयो ।
पेल्टिमारी फुटबल क्लबले ०८० चैत २४ गतेबाट ०८१ वैशाख १ गतेसम्म सञ्चालन गरेको पेल्टीमारी कप ०८० को फाइनल खेलको अवसरमा नेकपा एमाले चुलाचुली गाउँ कमिटिले आयोजक संस्थालाई २५ हजार रुपियाँ आर्थिक सहयोग गरेपछि आचारसंहिता उल्लङ्घन भएको पाइएको हो ।
नेकपा एमाले चुलाचुलीका सचिव ऋतुप्रसाद अधिकारी र सह सचिव होमनाथ दहालले संयुक्त रूपमा पेल्टिमारी फुटबल क्लब अध्यक्ष मिलन तामाङ र सचिव कृष्ण गिरीलाई चेक हस्तान्तरण गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नु भएको छ ।
इलाम निर्वाचन क्षेत्र न. २ मा ०८१ वैशाख १५ गते उपनिर्वाचन हुने भएपछि निर्वाचन आयोगले ०८० चैत २८ गतेबाट निर्वाचन आचारसंहिता ०७९ लागू गरेको छ ।
निर्वाचन आचारसंहिता ०७९ को परिच्छेद ४ को दफा १३ ‘झ’ मा विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता गर्न, चन्दा पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने उल्लेख छ ।
