तरुण दलका जिल्ला सदस्य तथा व्यवसायी वीरेन्द्रनगर नगरपालिका–१ का ३९ वर्षीय विनोद गिरीमाथि गोली प्रहार घटनाका आरोपित मुख्य योजनाकारलाई गिरफ्तार गर्नुपर्ने माग राख्दै वैशाख ३ गते जिल्ला अदालत अगाडि प्रदर्शन गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका–३ गैरीगाउँमा विनोद गिरी सवार बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा ०८० फागुन १२ गते साँझ गोली प्रहार गरिएको थियो । सोही घटनामा संलग्न भएको आरोपमा फागुन १२ गते राति नै प्रहरीले भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगङ्गा नगरपालिका–२ का १८ वर्षीय मोटरसाइकल चालक इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुललाई गिरफ्तार गरेको थियो । त्यस्तै गरी फागुन १३ गते घटनामा संलग्न रहेको भन्दै वीरेन्द्रनगर नगरपालिका–४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले गिरफ्तार गरेको थियो । तर, मुख्य आरोपितलाई प्रहरीले अझै गिरफ्तार गर्न नसकेको भन्दै पीडित परिवारले अदालतमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
‘निर्दाेष नफसोस् दोषी नउम्कियोस्, गोली हानी ज्यानै लिने सङ्गठित अपराधीहरुको जालोसम्म कहिले पुग्छ प्रहरी र पीडितले सुरक्षित महसुस हुन अझै कति कुर्नु पर्ने ? जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । हत्याको मुख्य योजनाकार अझै फरार रहेको भन्दै तत्काल गिरफ्तार गर्नुपर्ने पीडित विनोद गिरीले बताउनुभयो । मुख्य योजनाकार फरार हुँदा फेरि घटना हुन सक्ने भन्दै प्रहरी प्रशासनले यस विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । घटना भएको दुई महिना पुग्न लाग्दासमेत प्रहरीले मुख्य योजनाकार भनिएका व्यक्तिलाई गिरफ्तार गर्न नसक्नु पीडितका लागि दुःखद भएको उहाँको भनाइ छ ।
प्रहरीले सङ्गठित अपराध, ज्यान मार्ने र हातहतियार खरखजानाको मुद्दा अदालतमा दर्ता गरेको थियो । जिल्ला अदालतका न्यायाधीस मनोजकुमार श्रेष्ठको ०८१ वैशाख ३ गतेको इजलासले पुर्पक्षका लागि चारै जना आरोपितलाई कारागार चलान गरेको छ ।
भे ५ प ६०६१ नम्बर मोटर साइकलमा आएको भारतीयसहितको टिमले गिरी सवार कारलाई लक्षित गरेर गोली प्रहार गरेको थियो । गोली सिसामा लागेपछि पीडितलाई चोटपटक नलागेपनि गाडीमा भने क्षति भएको थियो ।
प्रहरी अनुसन्धानले रोहित भारतीय सुटर, विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी, गिरी सुटर र अन्य दुई जनालाई सुर्खेतमा ल्याएर होटेलमा बास बसालेर व्यवस्थापन गर्ने व्यक्ति रहेको खुलेको छ । मुख्य आरोपित फरार रहेका कारण विभिन्न संयन्त्र मार्फत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रुपेश खड्काले जानकारी दिनुभयो ।
