INSEC Online

📅 २०८३ जेष्ठ २१

चैते दसैँ मेलाको अनुगमन गरि अखाद्य पेय पदार्थ जफत गरि नष्ट

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, पर्यटन तथा उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, इन्सेक बागलुङ, बागलुङ नगरपालिकाका अधिकृत लगाएतको उपस्थितीमा चैत ३ गते खटिएको अनुगमन टोलीले चैते दसैँ मेलामा लगाएको स्थानका २० ओटा स्टलको अनुगमन गरि अखाद्य वस्तु नष्ट गरिएको हो ।

अनुगमनको क्रममा रमाइलो मेला लागेको स्थानमा राखिएको कृष्ण आइसक्रिमबाट उत्पादन र उपभोग मिती नभएको, स्रोत र मिसावट गरिएका वस्तु तथा रंगहरुको समेत पहिचान नभएका ८० लिटर आइस झोल, विभिन्न रंग र स्वाद मिसावट गरिएका २० बोत्तल पेय पदार्थ नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

त्यसैगरी अखाद्य रंगको प्रयोग गरेर बेचिएका कटन क्यान्डी सहित कटन क्यान्डी बनाउन प्रयोग गरिएको रंग मिसावट गरिएको २० केजी चिनी नियन्त्रण गरिएको छ ।

अखाद्य कडा रंगको प्रयोग गरेर बनाइएका खानेकुरा खादा क्यान्सर लगाएतका विभिन्न घातक रोग लाग्ने उच्च जोखिम हुने भन्दै यस्ता खानेकुरा खानै नहुने भएकाले नियन्त्रणमा लिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले बताउनु भयो ।

मेला महोत्सव जस्ता भिडभाड हुने स्थानमा व्यापारीहरुले मानिसलाई आकर्षण गर्न आवश्यकता भन्दा बढी रंगको प्रयोग गरेर, म्याद समेत गुज्रिएका अखाद्य वस्तु विक्रि वितरण गर्ने गरेको गुनासो आएपछि अनुगमन गरिएको उहाँको भनाई छ ।

फुड कलर भनेर बजारमा बेचिने रंगको समेत मिल्ने भन्दा बढी मात्र प्रयोग गरेर धुलो र खुल्ला स्थानमा बेचेका खानेकुरा खाने व्यक्तिहरु समेत स्वयं सचेत हुनुपर्ने श्रेष्ठले बताउनु भयो । शिक्षित युवा युवती समेत यस्ता अखाद्य खानेकुरा रमाई रमाई खाने गरेको प्रति चिन्ता व्यक्त गर्दै सबैजना आ–आफ्नो स्वास्थ्य प्रति संवेदनशिल बन्नुपर्ने उहाँले बताउनुभयो ।

मेला स्थल भित्र कानुन विपरित पैसाको लेनदेन हुने गरि विभिन्न खेल खेलाउने चार ओटा स्टललाई बन्द गराइएको छ । स्टल भित्र जुस, पैसा, साबन लगाएतका विभिन्न पैसाको प्रलोभनमा मेला हेर्न आएका बालबालिका र युवाहरुलाई आकर्षण गरि खेल खेलाएर पैसा असुलेको पाइएर खेल खेलाउने सामग्री नियन्त्रण लिइएको सहायक प्रजिअ बरालले बताउनु भयो ।

अनुगमनमा पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापा मगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठ, पर्यटन तथा उद्योग कार्यालय बागलुङका अधिकृत विष्णु नाथ शर्मा, जिल्ला प्रहरी कार्यालय बागलुङका बसन्तबहादुर भुजेल, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्त, बागलुङ नगरपालिकाका अधिकृत मित्रलाल सापकोटा लगाएतको उपस्थिती रहेको थियो ।

insec anugaman1 081-1-4 baglung

insec anugaman5 081-1-4 baglung

insec anugaman3 081-1-4

insec anugaman6 081-1-6 baglung

अन्य

भिडियो