सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न चैत ३० गते सिफारिस समिति गठन गरेको छ ।
चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष र सदस्य सिफारिस गर्न सिफारिस समिति गठन गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले सञ्चारकर्मीलाई जानकारी दिइन् ।
सिफारिस समितिका सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा आयोगले तोकेको सदस्य, सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, गैरसरकारी संस्था महासङ्घका पूर्व अध्यक्ष डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ रहेका छन् ।
‘२०७९ असारदेखि पदाधिकारीविहीन भएर बेकामे भएका बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न एवम् आयोगलाई कामयाबी बनाउन सरकार र राजनैतिक दलहरूले आलटाल गर्दै आए। पीडितको पीडाको सम्बोधनप्रति रत्तिभर जिम्मेवार र जबाफदेही भएनन्।’-द्वन्द्वपीडित सुमन अधिकारी बताउनु भयो ।