INSEC Online

📅 २०८३ जेष्ठ २२

दलित भएकै कारण कोठाबाट निकालिएको पीडितको आरोप

उदयपुर जिल्ला, त्रियुगा नगरपालिका-१ की २२ वर्षीया सम्झना सुन्दासले दलित भएकै कारण आफूलाई धनकुटा नगरपालिका-७ की ४७ वर्षीया इन्दिरा श्रेष्ठले घरबाट निकालेको आरोप लगाउनु भएको छ ।

लोक सेवा आयोगले धनकुटामा सञ्चालन गरेको परीक्षामा सहभागी हुन ०८० चैत २८ गते पुग्दा होटल भरिभराउका कारण वास बस्न कोठा नपाएपछि आरोपितले श्रेष्ठले मेरै घरमा बसेर परीक्षा दिनु भनि वास दिएको र साँझ कुराकानीका क्रममा सुन्दास थर भनेपछि घरबाट निकालेको पीडितको आरोप छ ।

परीक्षार्थीलाई दलित भनेर निकालेपछि धनकुटा नगरपालिका-७ मा देउराली होटल सञ्चालन गर्दै आउनु भएकी शोभा घिमिरेले समन्वय गरी आफ्नै होटलमा बसेका परीक्षार्थीहरूसँग मिलाएर राख्नु भएको छ ।

घटनाका आरोपितविरूद्ध चैत ३० गते परीक्षा सकिएपछि प्रहरीमा जातीय विभेदविरूद्ध उजुरी दिने पीडित परीक्षार्थीले बताउनु भयो ।

आरोपितले कोठा नपाएपछि सम्झनालाई राखेको भएपनि मरिमराऊ भएका कारण घरबाट बाहिर पठाएको बताउनु भयो । उहाँले इन्सेक प्रतिनिधिले दलित भएकै कारण घरबाट निकालेको आरोप लागेको जिज्ञासामा उहाँले आफ्नो घर, आफ्नो मर्जी भएको प्रतिक्रिया दिनु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरीले छुवाछूतविरूद्ध कुनै उजुरी दर्ता नभएकाले त्यसबारे कानुनी कारबाही अघि बढ्न नसकेको बताउनु भयो ।

दलित एकता समाज जिल्ला अध्यक्ष कोपिला शङ्करले जातीय छुवाछूत गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्ने बताउनु भयो ।

नेपालको संविधान २०७२ को भाग ३ मा रहेको मौलिक हक अन्तरगत धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हक उल्लेख छ ।

धारा २४ को उपधारा ५ मा सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुन बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनी उल्लेख गरिएको छ ।

अन्य

भिडियो