राजगढ गाउँपालिका–५ मलेकपुरका मजदुर ४४ वर्षीय बुधु सदाको हत्या आरोपित छिन्नमस्ता गाउँपालिका–७ हाटीका ३८ वर्षीय संजयकुमार यादव ०८० चैत २४ गते गिरफ्तार भएका छन् ।,
पीडितलाई ०७८ वैशाख १४ गते संजयसहित छिन्नमस्ता गाउँपालिका–७ हाटीका ४० वर्षीय रमेश यादव, ५० वर्षीय चन्देश्वर यादव, उनका भाइहरू ४८ वर्षीय बिन्देश्वर यादव र ४२ वर्षीय विशेश्वर यादवले कुटपिट गरी हत्या गरेको भन्दै सदाकी पत्नी ४१ वर्षीया प्रमिलादेबी सदाले जिल्ला प्रहरी कार्यालयमा ०७८ वैशाख २३ गते उजुरी दिनुभएको थियो ।
रोजगारका लागि भारतको हरियाणा जमुनानगरस्थित प्लाइउडको कारखानामा लगेका आरोपितहरूले खाना खान नदिई भोकभोकै राखेपछि पीडितले खाना माग्दा विवाद गरी फलामको साङ्लोले बाँधी ०७८ वैशाख १४ गते कुटपिट गरेर घाइते बनाएको पत्नी प्रमिलाले बताइन् । आरोपित रमेश र संजयले वैशाख १६ गते विहान ९८०४७४९६२७ नम्बरबाट फोन गरी छिन्नमस्ता गाउँपालिका–३ सखडाको सिमामा रहेको भारतको न्यौर बोर्डरमा बोलाई अचेत अवस्थामा पीडितलाई जिम्मा लगाएको मृतकका छोरा धिरेन्द्र सदाले बताउनु भयो ।
पीडित परिवारका अनुसार सोही कुटपिटका कारण घाइते सदाको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०७८ वैशाख १७ गते राति मृत्यु भएको थियो । शवको धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख १९ गते पोष्टमार्टम भएको थियो ।