इन्सेकले काठमाडौँमा चैत २८ गते विश्वव्यापी आवधिक समीक्षा (युपीआर)को चौथो चक्रको प्रतिवेदन तयारीका लागि गैरसरकारी संस्थाका प्रतिनिधिहरुका बिचमा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
छलफल कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले युपीआरको चौथो चक्रको समीक्षाको प्रतिवेदन बुझाउन करिब एक वर्ष बाँकी रहेको सन्दर्भमा यो छलफल फलदायी भएको बताउनु भयो । यसअघि युपीआरको तेस्रो चरणमा प्राप्त सुझावको कार्यान्वयनको अवस्था उल्लेख गर्दै मध्यावधि प्रतिवेदन समेत बुझाइसकेको गौतमले बताउनु भयो ।

यो छलफलका प्रतिवेदन सन् २०१० देखि नै इन्सेकको आयोजनामा भएको जानकारी इन्सेकका कार्यकारी निर्देशक विजय गौतमले बताउनुभएको छ । समीक्षामा प्राप्त सुझावहरूको कार्यान्वयन अवस्था र चौथो चरणको समीक्षाको तयारी गर्नका लागि यो कार्यक्रम गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा अधिवक्ता कपिल अर्यालले हालसम्म प्रस्तुत भएका विभिन्न प्रतिवेदनले मानव अधिकार उल्लंघन भएका घटनाहरू बढेको पाइएको बताउनु भयो ।

घरेलु कामदारमा महिलालाई स्वीकृति नभए पनि मानव तस्करी गरी पठाइने र यस विषयमा कानुन भएता पनि कार्यन्वयनमा नआएकोले यस विषयमा पनि प्रतिवेदनमा उल्लेख गर्नुपर्ने कार्यक्रमका सहभागीले सुझाएका छन् ।
युपीआरका लागि महिला सञ्जालको सचिवालय ओरेक, युपीआरका लागि सिमान्तकृत समुदायको सञ्जालको सचिवालय डिआरसिएफसी र युपीआरका लागि नेपाली गैर सरकारी संस्थाहरूको सञ्जालको सचिवालय इन्सेकले मानव अधिकारका विभिन्न विषयवस्तुमा छलफल गर्दै त्यसबाट आएको निचोडसमेतका आधारमा युपीआरका लागि प्रतिवेदन तयारी गर्दै आएका छन् । सञ्जालमा ४ सय ४० भन्दा बढी गैरसरकारी संस्थाहरू आबद्ध छन् ।


