राजविराज नगरपालिका–१ शिवथानकी ४८ वर्षीया कैली देबी यादवलाई कथित बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय चन्देश्वर यादव र ४८ वर्षीय सुरेन्द्र यादवलाई प्रहरीले ०८० चैत २६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई चन्देश्वर र सुरेन्द्रसहित सुरेन्द्रका बुबा ६८ वर्षीय फुलचन्द्र यादव, सुरेन्द्रकी पत्नी ४६ वर्षीया सोबिता यादव, चन्देश्वरका भाइ ३५ वर्षीय बितवा भनिने हरेराम यादव, निजकी पत्नी ३४ वर्षीया सुनिता देबी यादव, चन्देश्वरकी पत्नी ४९ वर्षीया बिणा भनिने लुखिया यादवले ०७९ चैत २९ गते घेरा हाली कथित बोक्सी भनी मलमुत्र र फोहोर विष्टा खुवाउन खोज्दै कुटपिट गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयले पीडितको उजुरी दर्ता नगरेपछि उच्च अदालत जनकपुर राजविराज इजलासमा ०८० असार ६ गते दिएको निवेदन अनुसार ०८० माघ ११ गतेको परमादेश जारी भएको थियो । परमादेश पश्चात पीडितले फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकोमा ०८० फागुन २३ गते सनाखत भई उजुरी दर्ता भएको थियो । आरोपितहरुले जग्गा जमिनको विषयमा वादविवाद भएको बोक्सी भन्दै कुटपिट नगरेको बताएका छन् ।