INSEC Online

📅 २०८३ जेष्ठ २१

एक गाग्री पानी भर्न घण्टौँ पैदल हिँड्न बाध्य छन् मल्लरानी गाउँपालिकाका स्थानीय

गाउँमा खानेपानीको समस्या हुँदा एक गाग्री पानी भर्न घण्टौँ पैदल हिँड्नु पर्ने बाध्यता रहँदै आएको मल्लरानी गाँउपालिका-२ का स्थानीयले गुनासो गरेका छन् ।

बस्तीमा पानीको सहज व्यवस्था नहुँदा मल्लरानी गाउँपालिका-२ का सारारा, हमालडाँडा र खजुरे चुदरीखोलाका करिव ६० घर धुरीका नागरिकहरू पानी भर्नको लागि एक घण्टाभन्दा बढी दुरीमा रहेको खोला, कुवा र पँधेरामा जान बाध्य भएका छन् ।

गाउँमा खानेपानीको समस्या वषौँदेखि रहँदै आएको र पानी सहज सुविधा नहुँदा घरयासी काम, मेला पात, सरसफाई गर्न, बालबालिकालाई खाना बनाएर समयमै विद्यालय पठाउन नसेको लगाएतका समस्या भौग्दै आएको स्थानीय ५६ वर्षीया कुवारी नेपालीले बताउनु भयो । निर्वाचनको समयमा राजनीतिक दलका प्रतिनिधिहरूले घर घरमा पानीको सुविधा पुर्‍याइदिने भने पनि चुनाव जितेपछि यहाँको समस्या के छ भनेर कोही जनप्रतिनिधि गाँउमा नआएको स्थानीय ४८ वर्षीय विकास विष्टले बताउनु भयो ।

गाउँमा पानी आउला र भरपुर उपभोग गर्न पाइएला भन्ने आशा पानीको तिर्खा झै पटक पटक लागिरहन्छ तर आशा वषौँदेखि आशामा रहेको विष्टको भनाई छ । स्थानीयका अनुसार गाउँ नजिक खानेपानीको मुहान नभएकोले टाढाबाट पानी ल्यउँदा खर्च धेरै लाग्ने भएर पनि राज्यले चासो नदएिको गुनासो व्यक्त गरेका छन् । बस्तीमा खानेपानीको समस्या धेरै पहिलेदेखि नै रहँदै आएको र गाउँमा पानी पुर्‍याउनको लागि डिपीआर पनी बनिसकेकाले बजेट विनायोजन गरी छिट्टै खानेपानीको समस्या हल गर्ने तर्फ गाँउपालिका लागेको मल्लरानी गाँउपालिका अध्यक्ष कृणबहादुर खडकाले बताउनु भयो ।

अन्य

भिडियो