लिखुतामाकोसी गाउँपालिका–६ खिम्तिमा एउटा ग्रामीण सडक बनाउदा बस्ती बग्ने र बजार पुरिने भन्दै स्थानीयले आयोजना रोक्न स्थानीयले माग गरेका छन् ।
गाउँपालिकामार्फत निर्माण हुन लागेको शिवालय–नागथली सडक खन्दा स्थानीय धारापानी र काभ्रेको बस्ती बग्ने र सो बस्ती बगेर खिम्ति बजार पुरिने भन्दै स्थानीयले सडक निर्माणको काम नगर्न माग गरेका हुन् । उक्त सडक निर्माणको लागि लिखुतामाकोशी गाउँपालिकाले ३० लाख रूपियाँको टेण्डर आह्वान गरेको छ ।
सडक निर्माण गर्दा बस्ती बगाउने र पुरिने भन्दै स्थानीय ६० जनाले सामूहिकरुपमा वडा कार्यालयमा निवेदन बुझाएका छन् । वडा कार्यालयमा स्थानीयको निवेदन आएपछि प्राविधिक अध्ययन नगरी काम अघि नबढाउन गाउँकार्यपालिका बैठकमा आनुरोध गरेको वडा नं ६ का वडाध्यक्ष शिवप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष केशव महतले टेण्डर प्रक्रियामा गइसकेकोले सो काम रोक्न नमिल्ने जवाफ दिएपछि जिल्ला प्रशासन कार्यालय रामेछापमा स्थानीयको निर्णय तथा माग सहितको निवेद वडा कार्यालयको तर्फबाट ०८० चैत १८ गते बुझाएको वडाध्यक्ष न्यौपानेले बताउनु भयो ।
खिम्तिको शिवालयबाट नागथलीसम्म जान अहिले नै दुईवटा सडक छन् । अहिले पुनः सो ठाउँमा जान बिचबाट तेस्रो सडक खोल्न लागिएको हो । उक्त ठाउँमा बिचमा कमेरो माटो भएको खहरेको पहिरो छ । सोही ठाउँमा २०७० पहिरो जाँदा खिम्तिबजारमा रहेको खहरेको पुल बगाउनुको साथै आठ जना मानिसको मृत्यु भएको थियो । उक्त बाढीले खिम्ति बजारमा ठूलो क्षति पुर्याएको स्थानीय शेरबहादुर थापा बताउनु हुन्छ । यसैगरी, खिम्तिको माथिल्लो क्षेत्रमा २०७४ गएको पहिरोले छतिउने खोलाको पुल बगाउनुको साथै सात जनाको मृत्यु भएको थियो । त्यस्तो जोखिमपूर्ण क्षेत्रमा सडक खन्दा पहिरोको थप जोखिम हुने भन्दै स्थानीयले काम अघि नबढाउन अनुरोध गरेका हुन् ।
वडाध्यक्ष शिव न्यौपानेले जोखिमपूर्ण क्षेत्रमा सडक खन्दा थप क्षति हुनसक्ने बताउदै भएकै शिवालय–कटुञ्जे–नागथली सडकको स्तरोन्नतिको लागि सो बजेट खर्चगर्दा उपयुक्त हुने धारणा राख्नु भयो । बजेट माग गर्दा पनि सोही सडकको लागि बजेट माग गरिएको तर स्वीकृत भएर आउँदा कटुञ्जे भन्ने शब्द छुटेको न्यौपानेले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले पनि स्थानीयलाई क्षति हुने गरी सडकको काम अघि नबढाउन मौखिकरुपमा निर्देशन दिनु भएको छ ।
सडकको स्टमेट पनि सुरू बिन्दुबाट नगरी अन्तिम बिन्दुबाट काम सुरू गर्ने गरी गरिएको छ । सडकको सुरू बिन्दुमा चट्टानी पहाड पर्ने भएकाले त्यसलाई छलेर माटो मात्रै भएको जोखिमपूर्ण क्षेत्रबाट काम सुरू गर्ने गरी स्टमेट गरी टेण्डर आह्वान गरिएको छ । सुरूको बिन्दुबाट काम थाल्दा अहिलेको बजेटले सुरूकै पहरो काट्न पनि अपुग हुने भएकाले अन्तिम बिन्दुबाट काम गर्ने गरी स्टमेट गरिएको छ । जसले गर्दा उक्त बाटो खनिए पनि निर्माणकार्य पूरा नभई पहिरो जाने क्षेत्रसम्म खनेर पहरोमा पुगेपछि सडक त्यतिकै अलपत्र हुने अवस्था छ ।
पुरानो पहिरो गएको ठाउँमा अहिले उत्तिसका बोटहरु उम्रिन लागेका छन् । फेरि सडक खन्दा त्यो पहिरो चल्ने र बस्ती नै जोखिममा पर्ने अवस्था रहेको स्थानीय सुशीला थापा बनाउनुहुन्छ । ‘भएकै सडकको स्तरोन्नति नगरेर नयाँ सडक खन्दा जोखिम बढ्छ’, उहाँले भन्नुभयो ।