INSEC Online

📅 २०८३ जेष्ठ २१

खाद्य डिपोमा अनुदानको चामल अभाव

जिल्लामा रहेका खाद्य डिपोमा अनुदानको चामल अभाव भएको छ । तिला गाउँपालिकास्थित जुम्लाकोट डिपो, सिंजामा धाँपा डिपो, हिमाको बाँजागाड, तातोपानीको पाथरसाँघु र पातारासीको लुमगाउँ केन्द्रमा अनुदानको चामल अभाव भएको हो ।

चालु आर्थिक वर्षमै २ सय ७६ क्विन्टल ५० केजी चामल जुम्लाकोट डिपोले बिक्री गरेको छ । ३ सय ४० क्विन्टल चामल धापा डिपोले बिक्री गरेको हो । पाथरसाँघु र बाजागाड बिक्री केन्द्रले सात सय क्विन्टल चामल बिक्री गरेको छ । तर अहिले अनुदानको चामल नहुँदा खाली नै छन् । लुम बिक्री केन्द्रबाट चामल नै बिक्री वितरण हुन सकेको छैन ।

सदरमुकाम खलंगामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा ५ सय २ क्विन्टल मात्रै अनुदानको चामल रहेको छ । वार्षिक ६ हजार क्विन्टल चामल कोटा तोकिएको थियो । आर्थिक वर्ष सकिन तीन महिना बाँकी हुँदै सबै चामल ढुवानी भइसकेको छ । कम्पनीमा मौज्दात रहेको ५ सय २ क्विन्टल अहिलेको माग अनुसार यो चामल एक हप्ता पनि नपुग्ने कम्पनीका लिमिटेडका सहायक लक्ष्मण शर्माले बताउनु भयो ।

२५ किलोग्रामको २ हजार ३ सय रुपियाँ पर्ने स्टिम जिरा चामल मात्रै गोदाममा भएपनि पर्याप्त छैन । प्रतिकेजी ९२ रुपियाँमा यो चामल बिक्री वितरण भइरहेको छ । दैनिक ५० देखि ६० जना अनुदानको चामल लिन आउने गरेका छन् । चामलको अवस्था हेरेर एक जनालाई आवश्यकताका आधारमा २५ केजी मात्रै दिने गरिएको उहाँको भनाइ छ ।

अरुवा मोटा चामलको सबैभन्दा धेरै माग छ । तर त्यही चामल गोदाममा छैन । ग्राहकहरुको मागका आधारमा थप चार हजार क्विन्टल चामल माग गरिएको छ । थपिएको चामल ल्याउने तयारी भइरहेको सहायक शर्माले बताउनु भयो । खड्का एण्ड सन कन्ट्रक्सन प्रालिले चामल ढुवानीको जिम्मेवारी पाएको छ ।

थपिएको चामल आउने वित्तिकै चालु आर्थिक वर्षको असार सम्म अनुदानको चामल सेवाग्राहीले सहजै रुपमा पाउनेछन् । स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटा र अरुवा मध्यम चामल कम्पनीले बेचिरहेको छ । तर अहिले यी जातका कुनै पनि चामल गोदाममा छैन ।

जुम्लामा बर्दियाको राजापुर, नेपालगञ्ज र सुर्खेत देखि चामल ढुवानी हुने गरेको छ । धेरै गुणस्तरको र बजारमुल्य भन्दा कम मुल्यमा पाइने भएकोले सेवाग्राहीको घुइचो पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमै लाग्ने गरेको छ ।

सबैभन्दा बढि पातारासी र सबैभन्दा कम चामल सिंजा, हिमा, कनकासुन्दरी र तिला गाउँपालिकामा जाने गरेको खाद्य व्यवस्था कार्यालय जुम्लाले जनाएको छ । ’चामलको माग अधिक छ । गोदाममा चामल छैन्,’ सहायक शर्माले भन्नुभयो, ‘ढिलो गरी चामल आयो भने त सङ्कट नै आइपर्ने देखिन्छ ।’ विपद् र कुनै घटना घटिहालेको खण्डमा उपलब्ध गर्नुपर्ने चामल पनि नरहन सक्ने स्थिति रहेको उहाँले बताउनु भयो ।

सुलभ मुल्यको कम्पनीको चामल खाइरहेको जुम्लाबासी एकाएक चामल अभाव सँगै बजारको महङ्गो चामल उपभोग गर्न बाध्य छन् । थप कोटाको चामल तत्काल ढुवानी गरेर ल्याउन जुम्लाबासीले माग गरेका छन् । अहिले सदरमुकाम खलंगा बजारमा सस्तो कम गुणस्तरको चामल न्युनतम दुई हजार देखि दुई हजार पाँच सय रुपियाँसम्म बिक्री वितरण भइरहेको छ ।

कर्णाली राजमार्ग सञ्चालन भएपछि सहजै रुपमा चामल उपलब्ध हुने भएपनि आवश्यकता भन्दा कम कोटा निर्धारण गर्दा वर्षेनी जुम्लाबासीले अनुदानको चामल अभाव खेप्ने गरेका छन्  ।

 

अन्य

भिडियो