INSEC Online

📅 २०८३ जेष्ठ २१

एक दशकसम्म राहत नपाएको डढेलो पीडितको गुनासो

डढेलो नियन्त्रणको क्रममा मृत्यु भएका नौ जनाको परिवारले दशक पुग्दासम्म सरकारले राहत नदिएको गुनासो गरेका छन् ।

इस्मा गाउँपालिका-१ का पाँच र इस्मा गाउँपालिका-४ का दुई जनाको डेढेलो नियन्त्रणको क्रममा मृत्यु भएको थियो । त्यस्तै मदाने गाउँपालिका-५ का एक र मुसिकोट नगरपालिका-४ का एक जनाको मृत्यु भएको थियो । स्थानीय सामुदायिक वनमा ०६६ वैशाख १२ गते लागेको डढेलो नियन्त्रणको क्रममा रामलाल घिमिरे, अमर बहादुर कुवंर, देवकला खत्री, सीता कुवंर र धनकला खत्रीको मृत्यु भएको थियो ।

सोही वर्ष स्थानीय तिलेहार सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्न गएका मुसिकोट नगरपालिका-४ का गोपाल सुनारको मृत्यु भएको थियो । मदाने गाउँपालिका-५ का कमल खड्का ०७२ साल चैत २९ गते धैरेनी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणको क्रममा सख्त घाइते हुनुभएको थियो । तर, केही समयपछि उपचारकै क्रममा खड्को मृत्यु भयो ।

०७३ सालमा इस्मा गाउँपालिका-४ का तुल्सी बहादुर लामा गुरुङ र लोक बहादुर गुरुङको मृत्यु भएको थियो । नौ जनाको मृत्यु भएको दशक बितेपनि सरकारले पीडित परिवारलाई राहत दिन सकेको छैन् । नेता तथा जनप्रतिनिधिले आश्वासन मात्रै दिने र कार्यालयले विभागलाई दोष दिने गरेका कारण आफूहरू वर्षौ राहतबाट बिमुख भएको मृतक लोक बहादुर गुरुङका छोरा तेजेन्द्र गुरुङले गुनासो गर्नुभयो । उहाँले स्थानीय सरकार आएपछि राहत र सहयोगको आशा पलाए पनि फर्किएर कसैले नहेरेको बताउनु भयो । गुल्मीका पहिरो र आगलागीको जोखिम धेरै छ ।

वर्षेनी सयौँ हेक्टर वन जलेर नष्ट हुँदै आएको छ । दुई वर्षमा करिब २५ सय हेक्टर वन जलेर नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीका वन अधिकृत राजन कुवंरले जानकारी दिनुभयो । नौ जनाको डढेलो मृत्यु भएको विषय आठ/दश वर्ष पुरानो विषय भएको र फाइलहरू विभागमा थन्किएर रहेको कुवंरले बताउनु भयो ।

अन्य

भिडियो