राजविराज नगरपालिका–१५ देउरी भरुवाकी ५३ वर्षीया देवकी देबी मण्डललाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा फरार रहेका सोही ठाउँका ४४ वर्षीय सियालाल मण्डल ०८० चैत २१ गते हाजिर भएका छन् ।
जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासबाट आरोपित ५० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।
पीडितलाई ०८० जेठ २१ गते सियालालसहित निजकी पत्नी ४३ वर्षीया सुशिलादेबी मण्डल, छोरा २१ वर्षीय सुरज मण्डल, छोरी १८ वर्षीया अनुजाकुमारी मण्डलले कथित बोक्सी भनेर कुटपिट गरेको भन्दै पीडितकी छोरी ममता कुमारी मण्डलले ०८० जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
पीडितकै घरमा प्रवेश गरी आरोपितहरूले बोक्सी भन्दै कुटपिट, गालिगलौज गरेको पीडितले बताउनु भयो । पीडितको छिन्नमस्ता अस्पताल राजविराजमा जेठ २१ गते उपचार भयो । गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा जेठ २४ गते घाउजाँच भयो ।
जिल्ला सरकारी वकिल कार्यालयले उजुरी दर्ताका लागि ०८० असार २९ गते जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारवाहीका लागि निवेदनसहित उजुरी पठाएको थियो । पुनः साउन २ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएर सनाखत गरेपछि जिल्ला प्रहरी कार्यालयले साउन १६ गते उजुरी दर्ता गरेको पीडितका पति मिश्रीलाल मण्डलले जानकारी दिनुभयो । अन्य आरोपितहरू हालसम्म फरार रहेका छन् । जिल्ला अदालतमा ०८० भदौ १९ गते अभियोग पत्र दायर भएको थियो ।