आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी वीरेन्द्रनगर नगरपालिका –७ की ४४ वर्षीया दुर्गादेवि बास्तोलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि चैत २२ गते आर्थिक सहयोग गरेको छ ।
पीडित महिलालाई ४६ वर्षीय पति कैलास कुमार जैसीले ०८० चैत १२ गते कुटपिट गरेर घर निकाला गरेपछि पीडितले जिल्ला अदालतमा अंश र खाना खर्चसहितको सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नु भएको थियो । उहाँले मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा चैत १३ गते निवेदन दिनुभएको थियो । थप कानुनी प्रकृयामा जानका लागि आवतजावत गर्न र कानुनी शुल्कमा समस्यामा परेको पीडितले बताउनुभयो ।
पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको चैत २२ गते बसेको बैठकको निर्णय अनुसार नगद आठ हजार रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्यायिक प्रकृयामा जाँदा लाग्ने निवेदनशुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।
