कमल गाउँपालिका-५ का ५० वर्षीय शिक्षक मोहनकुमार बगाले थापा मगरले १७ वर्षीया बालिकालाई कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

कमल गाउँपालिका-५ स्थित मङ्गलमय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्र निर्जला बाँस्कोटालाई सोही विद्यालयका प्रधानाध्यापक मगरले सामाजिक सञ्जाल ‘फेसबुक’ मा कमेण्ट लेखेको आरोपमा ०८० चैत २० गते खानेपानीको पाइपले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
कुटपिटबाट छोरीको गोडामा निलडामसहितको चोट लागेको बालिकाका ४० वर्षीय बाबु नवराज बाँस्कोटाले बताउनु भयो । विद्यालयले चैत २० गते फोन गरी बोलाएर कागजपत्रमा हस्ताक्षर लगाएर छोरी जिम्मा लगाएको बालिकाका बाबुले बताउनु भयो ।
कुटपिट घटनाका आरोपितविरूद्ध पीडित पक्षले चैत २१ गते इलाका प्रहरी कार्यालय, दमकमा उजुरी दिएको छ । घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । कमल गाउँपालिकालाई ०८० माघमा बालमैत्री गाउँपालिका घोषणा गरिएको छ ।