INSEC Online

📅 २०८३ जेष्ठ २१

जबर्जस्ती विवाह गराई गाउँ निकाला

सुरुङ्गा नगरपालिका–७ हरिपुरकी ४५ वर्षीया महिलालाई उनका ४२ वर्षीय देवरसँग ०८० चैत १३ गते जबर्जस्ती विवाह गराई गाउँ निकाला गरिएको छ । उनीहरूलाई अनैतिक सम्बन्धको आङ्शकामा पञ्चायती बसी गाउँ निकाला गरिएको स्थानीयवासीले बताए ।

गाउँको पञ्चायतीले दुवैको विवाह गराएर गाउँ निकाला गर्ने निर्णय भएको हो । निर्णय अनुसार गाउँलेहरूको बीचमा देवरलाई भाउजू नाता पर्ने महिलाको सिउँदोमा सिन्दुर हाल्न लगाइएको थियो । पञ्चायती बसेकै बेला गाउँलेहरूबाट घेरिएर बसेकी महिलाको सिउँदोमा देवरले सिन्दुर हालिरहेको भिडियो सामाजिक सञ्जालमा समेत राखिएको छ ।

नातिनातिना समेत रहेकी महिलाका पति र दुवै छोरा रोजगारीका लागि विदेशमा छन् । चैत १२ गते फागु पूर्णिमाका दिन देवर र भाउजूलाई एउटै कोठामा देखेपछि गाउँलेले रातभर उनीहरूलाई बाँधेर राखेका थिए ।

सार्वजनिका भिडिओमा महिला बसेर रोइरहेकी देखिन्छिन् भने देवर भनिएका व्यक्तिलाई गाउँलेहरूले दवाव दिई सिन्दुर हाल्न लगाएको देखिन्छ । गाउँलेहरूले देवरलाई व्यङ्गयस्वरुप गम्छा लगाएका छन् । महिलाले रुँदै सिन्दुर पुछेकी छिन् । गाउँलेहरूकै निर्देशनमा देवरले हातमा समातेर महिलालाई लिएर जान्छन् । दुवैजना हाल सम्पर्कविहीन छन् । गाउँ निकाला गरिएका देवरको समेत पत्नी र २ नाबालक सन्तान छन् ।

अन्य

भिडियो