INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि बर्दिया कारागारमा समस्या

बर्दिया कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि त्यहाँ रहेका बन्दीहरूलाई समस्या भएको छ । कैदीबन्दीहरूले कारागारको क्षमताभन्दा धेरै कैदीबन्दी भएको हुनाले बसाई असहज भएको बताएका हुन् ।

बर्दिया कारागारका जेलर काशी प्रसाद पङ्गेनीले कारागारमा हाल ३ सय ५ जना कैदी, १ सय ४६ जना बन्दी र तीन जना आश्रित बालबालिका गरी ४ सय ५१ जना रहेको बताउनु भयो । जसमध्ये महिला कारागारमा ४९ जना र पुरुष कारागारमा ४ सय २ जना रहेका छन् । बर्दिया कारागारको कुल क्षमता पुरुष तर्फ १ सय २५ रहेको छ भने महिला तर्फ २५ जनाको रहेको छ । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राख्नु पर्ने भएको हुँदा समस्या भएको पङ्गेनीले जानकारी दिनुभयो ।

बन्दी र थुनुवा बन्दीहरूले सुत्नको लागि ठाउँ नै नभएको, भान्सा साँगुरो भएर धुँवा बाहिर नजाने, शुद्ध खानेपानी अपर्याप्तमा नरहेको, शारीरिक व्यायम गर्ने ठाउँको अभाव भएको बर्दिया कारागारका मुल नाइके खुसीराम चौधरीले बताउनु भयो ।

बर्दिया कारागारका मुल नाइके खुसीराम चौधरीले नेपालको संविधानले कारागारलाई सुधार गृहका रूपमा उल्लेख भए पनि व्यवहारिक रूपमा त्यो नभएको बताउनु भयो । उहाँले मानव अधिकारका न्यूनतम आवश्यताहरू पनि कारागारभित्र प्राप्त गर्न नसकेको जानकारी दिनुभयो । उहाँले पिउने पानीको समस्या, समयमा औषधि उपचार गर्न नपाएको, मनोरञ्जनका लागि खेल मैदानको कमी भएको बताउनु भयो । कतिपय निर्दोष व्यक्तिहरू कारागारमा आएको हुँदा उनीहरूको कानुनी उपचारका लागि आवश्यक पहल गरीदिनका लागि नाइके चौधरीले आग्रह गर्नु भयो ।

कानुन न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले कारागारको मानव अधिकारको अवस्था, कानुनमा सुधार गर्नुपर्ने कुराहरू संसदमा राख्ने, सरकारले गर्नुपर्ने कामहरू सरकारलाई निर्देशन र सुझाव दिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘कारागारमा विविध समस्याहरू देखिएका छन् । हामीले समितिको बैठक बसेर प्रतिवेदन तयार गरी सार्वजनिक गर्नेछौँ ।’

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले कारागारमा देखिएका समस्याको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले बर्दिया कारागारमा भौतिक संरचनामा कमि रहेको बताउनु भयो ।

बर्दिया कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा रहेकोले भौतिक संरचनाको अभाव, खानेपानी अभाव, शौचालय अभाव र बस्नको लागि कोठाको अभाव हुँदा कैदीबन्दीहरूले भोग्नुपरेको समस्याहरू सम्बन्धित निकायमा पहल गर्ने इन्सेक जिल्ला प्रतिनिधिले व्यक्त गर्नुभयो ।

Photo29032024Bardiya

अन्य

भिडियो