चन्दननाथ नगरपालिका – ९ श्रीदुस्कास्थित शम्भुनाथ ज्ञानकुज्ज माध्यमिक विद्यालयमा २०८० सालको माध्यमिक शिक्षा परीक्षामा (एसईई) परीक्षाका लागि १५ जनाले रजिष्ट्रेसन फाराम भरेका हुन् । तर उक्त विद्यालयबाट अहिले १० जना विद्यार्थीले मात्रै एसईई दिदै छन् । यस वर्षको एसईई परीक्षा १५ चैतदेखि सुरु हुदै छ ।
शुम्भुनाथ माध्यमिक विद्यालयका लेखापाल लक्ष्मी प्रसाद उपाध्यायका अनुसार एसईई परीक्षाको मिति नजिकिसक्यो प्रवेश पत्र पनि लिन आउदैनन् । एक जना विद्यार्थीलाई घरमै पुगेर परीक्षा दिन आउनु भनेर प्रवेश पत्र दिएर आयौँ । उहाँले भन्नुभयो ‘आधा पढ्ने उमेरमै विवाह गर्ने, कुलतमा फस्ने, इण्डियाँ (भारत) तिर जाने जस्ता कारणले रजिष्ट्रेसन फाराम भरेका शतप्रतिशत विद्यार्थी परीक्षा दिने आउने गरेका छैनन् ।’
तातोपानी गाउँपालिका – ५ एैरेनी स्थित दुर्गा माध्यामिक विद्यालय लाम्राबाट यस वर्षको एसईई परीक्षाका लागि ५६ जना विद्यार्थीले रजिष्ट्रेसन फाराम भरेका हुन् । रजिष्ट्रेसन फाराम भरेका ५६ जना विद्यार्थीले मध्ये ५४ जना विद्यार्थी मात्रै एसईई परीक्षा दिन आउने स्थिति देखिएको प्रधानाध्यापक प्रेमबहादुर शाहीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘एक जना विवाह गरेर भारततिर गएको र अर्काे एक जना विद्यार्थीका अभिभावकले प्रवेश पत्र लिए पनि परीक्षा दिन नआउने जस्तो देखिन्छ ।’
सिंजा गाउँपालिका – ६ स्थित माध्यामिक विद्यालय जोडुबाट यस वर्ष एसईई परीक्षाका लागि २५ जना विद्यार्थीले रजिष्ट्रेसन फाराम परेका हुन् । यस मध्ये २३ जनाले मात्रै परीक्षा दिने भएका छन् । दुई जनाले परीक्षामा सहभागी नहुने देखिएको प्रधानाध्यापक सिंहबहादुर बुढाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बीचमा पढाई छोड्ने विवाह गर्ने जस्तो समस्याले रजिष्ट्रेसन फाराम भरेका शतप्रतिशत विद्यार्थी परीक्षामा सहभागी नहुने देखिएको छ । ’
बेलैमा पुस्तक नपाउने कर्णालीका विद्यार्थीको पढाइको गुणस्तर वर्षेनी खस्किँदै गएको छ । भौगोलिक रूपमा विकट हुनु, राज्यले शिक्षामा पर्याप्त लगानी नहुनु, पढ्ने उमेरमा विवाह गर्नु, कुलतमा फस्नु, गरिबीजस्ता कारणले कर्णाली शिक्षामा पछि परेको शिक्षाविद् बताउँछन् ।
जुम्लामा १६ परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष जुम्लाबाट २ हजार ५ सय ५७ जना विद्यार्थीले एसईई परीक्षा दिने भएका छन् । गतवर्ष जुम्लाका २ हजार ८ सय ७७ जना परीक्षार्थी परीक्षामा सहभागी थिए । जुम्लामा पनि गतवर्ष भन्दा यसवर्ष परीक्षार्थीको सङ्ख्या ३ सय २० जना विद्यार्थी घटेको तथ्याङ्क देखिन्छ ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाई अनुसार शिक्षा गुणस्तर भन्दा पनि प्रजनन् दर घट्ने र जिल्लाबाट बाहिर बसाइँ सराइ बढेपछि गतवर्ष भन्दा यसवर्ष एसईई परीक्षार्थीको सङ्ख्या तथ्याङ्कमा घटेको देखिएको हो ।
कर्णालीमा करिव ३६ हजार परीक्षार्थी
यस वर्षको एसईई परीक्षामा कर्णाली प्रदेशमा ३५ हजार ८ सय ८ जना परीक्षार्थीहरू सहभागी हुँदैछन् । छात्रतर्फ १७ हजार ६ सय २३ र छात्रातर्फ १८ हजार १ सय ५८ जना छन् । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार परीक्षाका लागि प्रदेशभर १ सय ८६ ओटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ ।
विशेष गरी हिमाली जिल्लामा विद्यार्थीको सङ्ख्या निकै न्यून देखिन्छ । सबैभन्दा कम डोल्पामा जम्मा ७ सय ३३ जना विद्यार्थीले एसईई दिँदैछन् । यहाँ चार ओटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । हुम्लामा ६ ओटा मात्र परीक्षा केन्द्र छन् भने विद्यार्थी १ हजार १ सय ९५ छन् । मुगुमा ८ ओटा परीक्षा केन्द्र र १ हजार १ सय १३ परीक्षार्थी छन् । जुम्लामा १६ परीक्षा केन्द्र र २ हजार ५ सय ५७ परीक्षार्थी छन् ।
रुकुम पश्चिममा २३ ओटा परीक्षा केन्द्र र ३ हजार ५ सय ९३ जना परीक्षार्थी छन् । २५ ओटा परीक्षा केन्द्र रहेको सल्यानमा ४ हजार ५ सय ८२ परीक्षार्थी छन् । यस्तै २४ ओटा परीक्षा केन्द्र रहेको कालिकोटमा ३ हजार ७ सय ३६ जना परीक्षार्थी छन् । जाजरकोटमा २२ परीक्षा केन्द्र ४ हजार ६ सय ९४ परीक्षार्थी, दैलेखमा २५ परीक्षा केन्द्र ५ हजार २ सय ५७ परीक्षार्थी र सुर्खेतमा सबैभन्दा बढी ३३ ओटा परीक्षा केन्द्र र ८ हजार ३ सय ४८ परीक्षार्थी छन् ।
निर्देशनालयका सूचना अधिकारी लोकप्रसाद पौड्यालले परीक्षामा सहभागी हुने परीक्षार्थीमा ८ सय २६ जना ग्रेड वृद्धितर्फ छन् भने बाँकी नियमिततर्फ रहेको बताउनुभयो । उहाँका अनुसार कर्णालीमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । प्रश्न पत्रदेखि उत्तर पुस्तिकाहरू पनि परीक्षा केन्द्रहरूमा पुगिसकेको छ ।
परीक्षार्थीको सङ्ख्या घट्दै
कर्णालीमा हरेक वर्ष एसईई दिने परीक्षार्थीहरूको सङ्ख्या वृद्धि हुनाको साटो घट्दै गइरहेको छ । गत वर्ष प्रदेशका ३८ हजार ९ सय ७० जना विद्यार्थी एसईईमा सहभागी बनेका थिए । यो वर्ष ३ हजार १ सय ६२ जना विद्यार्थीहरू घटेको देखिन्छ । राजधानी समेत रहेको सुर्खेतमा पनि विद्यार्थीको सङ्ख्या घटेको देखिन्छ । गत वर्षभन्दा एक हजार भन्दा बढी विद्यार्थी घटेको देखिन्छ । गतवर्ष सुर्खेतबाट ९ हजार १ सय ३९ विद्यार्थीले एसईई दिएका थिए । प्रायः सबैजसो जिल्लामा विद्यार्थी सङ्ख्या घटेको देखिन्छ । हिमाली जिल्लामा पनि विद्यार्थीको सङ्ख्या घटिरहेको छ । गतवर्ष हुम्लामा १ हजार २ सय ३४ विद्यार्थीले एसईई परीक्षा दिएका थिए भने मुगुमा १ हजार ६ सय ६६ र डोल्पाका ६ सय ९८ जना परीक्षार्थी थिए ।
कालिकोटमा ३ हजार ७ सय ६६, जुम्लाका २ हजार ८ सय ७७ जना परीक्षार्थी छन् । जाजरकोटमा ४ हजार ६ सय ५६ र दैलेखमा ५ हजार ७ सय ३५ परीक्षार्थी छन् । विद्यार्थीको सङ्ख्या घट्नुको पछाडि गरिबी जोडिन्छ । आर्थिक अभावका कारण कतिपय विद्यार्थी ७–८ कक्षा पढ्दापढ्दै स्कुल छाड्ने गर्दछन् । तर सम्पन्न तथा जागीर गर्ने आमा बुबाहरू सरकारी विद्यालय भन्दा निजीतिर आकर्षित हुनाले पनि सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गइरहेको सरोकारवाला बताउँछन् । उसै पनि कर्णालीमा १ कक्षामा भर्ना भएकामध्ये कक्षा १० सम्म पुग्दा विद्यार्थीहरू निकै न्यून हुने गरेको विभिन्न तथ्याङ्कले देखाउँदै आएको छ ।
नेपाल राष्ट्र बैङ्कले कर्णालीमा गरेको सर्वेक्षण अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा सरकारी तथा सामुदायिक विद्यालयमा ४.०१ प्रतिशतले विद्यार्थी सङ्ख्या घटेको छ । तर निजी विद्यालयमा भने २२.२३ प्रतिशतले वृद्धि भएको देखाएको छ ।
खस्किँदै गुणस्तर
राष्ट्रिय परीक्षा बोर्डले ०७८ मा प्रदेशगत रूपमा सार्वजनिक गरेको एसईई नतिजा अनुसार कर्णालीमा १ सय १४ परीक्षार्थीले मात्र ३.६ देखि ४ जिपिए अङ्क ल्याएका छन्, जुन निकै कमजोर हो । एसईईमा प्रदेशबाट सहभागी परीक्षार्थी ३७ हजार तीन सय ६२ मध्ये ९ सय ५१ ले मात्र ‘ए’ ग्रेड ल्याए । गत वर्ष झन् नतिजा कमजोर आयो । गत वर्ष जम्मा २ सय ४० विद्यार्थीले ३.६० देखि ४ जिपिए ल्याए । त्यस्तै १ हजार ३ सय ३२ विद्यार्थीले ३.२० देखि ३.६० जिपिए, ३ हजार ६ सय ८८ विद्यार्थीले २.८० देखि ३.२० जिपिए, ८ हजार १ सय १२ विद्यार्थीले २.४० देखि २.८० जिपिए, ११ हजार २ सय ३९ विद्यार्थीले २ देखि २.४० जिपिए ल्याए ।
