INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारमा सम्पत्ति सकिएपछि तड्पिँदै मृगौला पीडित

छत्रकोट गाउँपालिका-४, दिगामका २१ वर्षीय सुनिल सोमरेको दुवै मृगौला फेल भएर पाँच वर्षदेखि निकै पीडा खेपिरहनुभएको छ । उपचार गर्दागर्दै घरको सम्पत्ति सकियो । रोगकै कारण पढाई छुट्यो । साहुको ऋण तिर्न बुबा हरिबहादुर सोमरेसँग उपाय छैन् ।

सुनिलले आदर्श मावी, दिगाममा पढ्नुहुन्थ्यो । ०७५ सालमा कक्षा ८ पढ्दैगर्दा बिरामी पर्नुभयो । उहाँलाई पिसाबमा समस्या देखिएपछि बुबा हरिबहादुरले काठमाडौँका विभिन्न अस्पतालमा पुर्‍याएर स्वास्थ्य परीक्षण गराउनुभयो । सुरुमा पिसाव कै सङ्क्रमण थियो । तर, केही समयमै दुवै मृगौला फेल भए । गरिब परिवारलाई त्योभन्दा ठूलो चोट केही भएन । हरिबहादुर सोमरेले स्थानीय फर्निचर उद्योगमा काम गर्नुहुन्थ्यो । उहाँले आफूले कमाएको र ऋणधन गरेर पाँच वर्षसम्म छोराको उपचार गर्नुभयो । अहिले काममा जाने स्थिति समेत छैन् ।

छोराको उपचारमा सम्पत्ति सकियो । मृगौलाको डाइलासिस नगरे छोरा बचाउन सकिँदैन् । डाइलासिस गराउने परिवासँग उपाय छैन् । काठमाडौँको महङ्गो बसाइँ र उपचारका कारण करिव ११ लाख रुपियाँ सकिएको सोमरेले बताउनु भयो । ‘छोरा तड्पिएको कसरी हेर्ने । मृगौला ट्रान्सप्लान्ट गर्न सक्ने स्थिति पनि छैन । गुल्मी अस्पताल पुराउने भाडा समेत छैन’, उहाँले भन्नुभयो । यो बिमार एक छिन् होइन । त्यसैले गरिब परिवारले उपचारमा सम्पत्ति सकेर अन्तिममा ज्यान पनि सक्ने स्थिति नेपालमा बनिरहेको उहाँले उल्लेख गर्नुभयो । यस्ता दीर्घ रोगीहरूको लागि सरकारले सबै सहयोग गर्नु आवश्यक छ । स्थानीय भोजराज न्यौपानेले श्रमजीवी सोमरे परिवारको दुखमा सहयोग गर्न सरकार र आम नेपालीलाई अनुरोध गर्नुभयो ।

स्थानीय भोजराज न्यौपानेले आर्थिक समस्याको कारण एउटा होनहार देशको नागरिकले ज्यान गुमाउन नहुने भएकाले सरकारले ठूलो रोग लागेका बिरामीको परिवारलाई सहयोग गर्नुपर्ने बताउनु भयो । त्यस्तै इस्मा गाउँपालिका–६ का मोहन नेपालीले सात वर्षीया छोरी ममता नेपालीको दुवै मृगौला फेल भएपछि अहिलेसम्म करिव १५ लाख खर्च गर्नुभयो । मृगौलाको समस्या बल्झिँदै गएपछि बालिकाको शरीर सुन्निएर समस्या भएको छ । मोहनले परदेशमा कमाएको सबै छोरीको उपचारमा सक्नुभयो ।

गाउँको बाँझो बारी कसैले किन्दैनन् । परिवारसँग अस्पताल जान सक्ने अवस्था छैन् । ती बालिकाको विद्यालय जाने उमेर पनि हो । तर, घरमै तड्पिएर बस्ने अवस्था रहेको बुबा मोहन नेपालीले गुनासो गर्नुभयो । ‘मैले छोरीको लागि सकेको खर्च गरेँ । स्थानीय सरकारलाई निवेदन दिए पनि कुनै सुनुवाई भएन । अस्पताल लैजान नसकेपछि छोरी सुन्निन थालेकी छिन्’, नेपालीले गुनासो गर्नुभयो ।

नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चितता गरिएको भए पनि नागरिकले उपचारको लागि सबै सम्पत्ति गुमाउने र ज्यान पनि गुमाउने स्थिति रहेको छ ।

अन्य

भिडियो