स्वास्थ्य कार्यालय, कपिलवस्तुका अनुसार कपिलवस्तु जिल्लामा ४ सय ६२ बालबालिकामा कुपोषित पुष्टि भएको छ । स्वास्थ्य कार्यालयको ०७९/८० को प्रतिवेदनमा ४ सय ६२ जना पाँच वर्ष मुनिका बालबालिकामा कुपोषण पुष्टि भएकोमा एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
मृतक बालकको बाणगङ्गा नगरपालिका-१ को उत्तमनगरको स्वास्थ्य चौकीबाट रिफर भई बाणगङ्गा नगरपालिका-८, मोतिपुर स्वास्थ्य चौकीको पोषण बहिरङ्ग सेवा सेन्टरबाट उपचार भइरहेको थियो । उपचार सुरु भएको १५ दिनपछि मृत्यु भएको खबर प्राप्त भएको मोतिपुर स्वास्थ्य चौकीका इन्चार्ज हिमलाल घिमिरेले जानकारी दिनुभयो ।
स्थानीय तह अनुसारको ०७९/८० को तथ्याङ्क हेर्ने हो भने महाराजगंज नगरपालिकामा १ सय ३२ जना, शिवराज नगरपालिकामा ८२ जना, कृष्णनगर नगरपालिकामा ४६ जना, बाणगङ्गा नगरपालिकामा ३४ जना, बुद्धभूमि नगरपालिकामा १४ जना, कपिलवस्तु नगरपालिकामा ३३ जना, बिजयनगर गाउँपालिकामा २९ जना, यशोधरा गाउँपालिकामा १८ जना, मायाँदेवी गाउँपालिकामा ४१ जना र शुद्धोधन गाउँपालिकामा ३३ जना बालबालिका कुपोषित भएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले बताउनु भयो ।
यसैगरी ०८०/८१ को साउनदेखि माघ मसान्तसम्म ओटिसी सेन्टरमा २ सय ८९ जना कुपोषित बालबालिका भर्ना भएको स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत अनिरुद्ध प्रसाद श्रीवास्तवले बताउनु भयो । ओटिसी सेन्टरमा भर्ना भएका सबै बालबालिकाको उपचार भइरहेको छ ।
यस आर्थिक वर्षमा कुपोषणका कारण बालबालिकाको मृत्युको सङ्ख्या शुन्य छ । यस्तै स्थानीय तह अनुसार बाणगङ्गा नगरपालिकामा १२ जना, कृष्णनगर नगरपालिकामा ३१ जना, बुद्धभूमि नगरपालिकामा आठ जना, शिवराज नगरपालिकामा ३२ जना, कपिलवस्तु नगरपालिकामा ३० जना, महाराजगञ्ज नगरपालिकामा ३२ जना, बिजयनगर गाउँपालिकामा ३२ जना, यशोधरा गाउँपालिकामा ३१ जना, मायाँदेवी गाउँपालिकामा ३५ जना र शुद्धोधन गाउँपालिकामा ४६ बालबालिकामा कुपोषण पुष्टि भएको तथ्याङ्क अधिकृत श्रीवास्तवले जानकारी दिनुभयो ।
सन् २०२३ को स्मार्ट न्यूट्रेसन सर्भे अनुसार कपिलवस्तु जिल्लामा ४६ प्रतिशत पुड्कोपन, १० प्रतिशत ख्याउटेपन, ३५ प्रतिशत कम तौल भएका बालबालिका भेटिएका छन् । एनडिएचएस २०२२ का अनुसार १५ वर्षदेखि ४९ वर्षको प्रजनन् उमेरका महिलाहरूमा लुम्बिनी प्रदेशमा ४४ प्रतिशत रक्तअल्पता देखिएको छ भने ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूमा ४९ प्रतिशत शरीरमा रगतको कमि देखिएको र १६ जना बालबालिका कम तौलका भेटिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत चौधरीले बताउनु भयो ।
जिल्लामा ६ महिनादेखि माथि पाँच वर्ष मुनिका ४ सय ६२ बालबालिका कुपोषित छन् । जसमध्ये एक जनाको मृत्यु, पाँच जना सम्पर्कमा नआएको, १६ जनालाई रिफर गरिएको छ भने ४ सय ४० जनाको जिल्लामा उपचार भइरहेको छ । कुपोषण न्यूनीकरण गर्न कपिलवस्तु जिल्लाको २७ स्थानमा कुपोषण व्यवस्थापन केन्द्र सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत चौधरीले जानकारी दिनुभयो ।
न्यूट्रेशन पुरा नभएकै कारण कुपोषणको सङ्ख्या बढ्दै गएको छ । कुपोषण न्यूनीकरणका लागि सबैले करेसा बारी निर्माण गरी उत्पादन गर्नुपर्ने, बजारमा बिक्रि वितरण गर्ने, अखाद्य वस्तुहरूको नियन्त्रण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम तथा अभियानहरू सञ्चालन हुनुपर्ने, व्यक्तिगत सरसफाई र वातावरणीय सरसफाईमा ध्यान दिनुपर्ने र किशोरीहरूमा आइरनको कमी देखिएको हुँदा सो विषयमा सचेत हुन आवश्यक भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत चौधरीले बताउनु भयो ।
किशोरी अवस्थामा कुपोषित भए उसबाट जन्मिने बच्चा कुपोषित हुने भएको हुँदा आइरन चक्की, जुकाको औषधि नियमित खुवाउनुका साथै सबैले मानव विकासमा लगानी लगाउनु पर्ने मानव अधिकार समूहका अध्यक्ष पुस्पा रेग्मीले बताउनु भयो । नेपाल कृषि प्रधान देश भएको हुँदा कृषिमा बहुपक्ष कार्यक्रम सञ्चालन गरी उत्पादन वृद्धि गर्न गुणस्तरीय बिउविजन वितरण गर्नुपर्ने रेग्मीले बताउनु भयो ।
कपिलवस्तु जिल्लामा पाँच ओटा सरकारी अस्पताल, एक प्रादेशिक अस्पताल, ७२ ओटा स्वास्थ्य चौकी, दुई ओटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई ओटा आधारभूत अस्पताल, सात ओटा नगरस्वास्थ्य केन्द्र, ४० ओटा सामुदायिक स्वास्थ्य इकाई, १७ ओटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, ३१ ओटा बर्थिङ् सेन्टर, ३ सय ९४ ओटा खोप केन्द्र, ३ सय १० ओटा गाउँघर क्लिनिक र १ हजार ७० जना महिला स्वास्थ्य स्वयम् सेविका छन् ।