तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीका ३० वर्षीय धर्मदेव कामैतको हत्या कसुरमा सोही ठाउँका ५३ वर्षीय राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य गुड्डु भनिने सुरजितकुमार सिंहलाई ०८० चैत ७ गते ६ महिना कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश उदवीर नेपालीको इजलासले ज्यान सम्बन्धी कसुरमा सिंहलाई कैद सजाय र ५ हजार रुपियाँ जरिवानाका साथै पीडित पक्षलाई साढे १ लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।
सिंहको घरआँगनमा रहेको नुहाउने पोखरीमा गाउँकै मिस्त्री कामैतको ०७७ भदौ ३१ गते ज्यान गएको थियो । पोखरीमा बिग्रिएको झरना बनाउन पोखरीभित्र प्रवेश गरेर मोटर मर्मत कार्य गरिरहेका बेला अत्यधिक विद्युत प्रवाह भई करेण्ट लागेर कामैतको घटनास्थलमै मृत्यु भएको हो । कल गाड्ने, बनाउने र मोटर मर्मत गर्ने मिस्त्री धर्मदेब कामैत इन्द्रदेवका एक्ला छोरा थिए । कामैतका बुवा, पत्नी र ३ सन्तान छन् ।
शवको पोष्टमार्टमा असोज १ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो । जिल्ला प्रहरी कार्यालयमा मृतकका काकाको छोरा २७ वर्षीय अमिर कामैतले भदौ ३१ गते भवितव्य ज्यानमा उजुरी दिएकोमा धर्मदेबकी पत्नी सबिताले सिंहविरुद्ध लापरवाहीपूर्ण काम गरी ज्यान लिएको भनी उजुरी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयले ०७७ मङ्सिर १८ गते दिएको उजुरीको सनाखत ०७७ पुस १२ गते गरेको थियो । मृतक परिवारले गृह मन्त्रालयलगायतमा निवेदन गरेपछि गृह मन्त्रालयले ०७७ पुस २८ गते प्रहरी प्रधान कार्यालयलाई छानबिन तथा कारवाही गर्न पत्राचार गरेको थियो । मधेश प्रदेश प्रहरी कार्यालयले सोही दिन आवश्यक कार्याथका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो । सबिताले जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत ०७७ फागुन ३ गते कारवाही बढाउन माँग गर्नुभएको थियो । प्रहरी प्रधान कार्यालयले पुनः ०७७ फागुन १९ गते जिल्ला प्रहरी कार्यालयलाई छानबिन तथा कारवाही गर्न आदेश दिएको थियो ।
त्यसपछि मात्र जिल्ला प्रहरी कार्यालयले ०७७ फागुन २८ गते पक्राउ पुर्जी जारी गरेको थियो । उजुरी दर्ता भएपनि कारवाही अगाडि नबढेको र आरोपित पक्राउ नपरेको भनेर पीडित पक्षले पुनः उजुरी गरेपछि प्रदेश प्रहरी कार्यालयले ०७८ वैशाख २६ गते जिल्ला प्रहरी कार्यालयलाई पुनः ताकेतापत्र पठाएको थियो । जिल्ला प्रहरी कार्यालयले खोजबिन र अनुसन्धान भइरहेको र आरोपित फेला नपरेको जवाफ पठाइरहेको थियो ।
अन्ततः आरोपित सिंह विरामी परेको उपचारको कागजातसहित ०७८ कात्तिक २८ गते प्रहरी कार्यालयमा हाजिर हुनु भएको थियो । कात्तिक २८ गते हाजिर भएका सिंहलाई मङ्सिर २ गते नै अदालतमा बुझाउँदै अभियोग पत्र दायर भएको थियो । जसमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सिंहलाई ५० हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो ।
मृतककी पत्नी सबिताले मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ (१) को कसुर मानी दफा १८१ (२) बमोजिम सजायको माँग गर्नुभएको थियो । दफा १८१.(१) मा लापरवाहीपूर्ण काम गरी कसैको ज्यान मार्न नहुने उल्लेख छ । त्यस्तो भएगरेमा १८१ (२) बमोजिम कसुर गर्ने व्यक्तिलाई दफा १७७, १७८ र १७९ को अवस्थामा बाहेक ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपियाँँदेखि १ लाख रुपियाँँसम्म जरिबाना हुने व्यवस्था छ ।
प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले दफा १८२ (१) विपरितको कसुर मानी १८२ (२) बमोजिम सजायको माँगदावी लिई अभियोग पत्र दायर गरेको थियो । दफा १८२ मा कसैले हेलचेक्र्याईपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न हुँदैन भनेर उल्लेख छ । १८२ को २ मा त्यस्तो कसुर गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ । दफा १८२ को उपदफा ३ अनुसार कसैको ज्यान मर्न सक्छ जस्तो नदेखिएको अवस्थामा कसैले कुनै काम गर्दा भवितव्यमा परी कसैको ज्यान गएमा निजलाई ६ महिनादेखि २ वर्षसम्म कैद वा २० हजार रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।
न्यायाधीश नेपालीले १८२ को २ अनुसार सिंहलाई ६ महिना कैद र ५ हजार रुपियाँ जरिवानाको फैसला गर्नुभएको छ । संहिताको दफा १८६ बमोजिम पीडितको हकवालालाई १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएको छ ।
सिंह जसपा नेपालका नेता तथा प्रदेश परिषद् सदस्य हुन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा जसपाका नेता तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव नियुक्त भएपछि सिंहलाई राष्ट्रिय दुग्ध विकास बोर्डको सदस्यमा मनोनयन गरिएको हो ।