तेस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का स्थानीय तहमा भदौ २१ गते छिटफूट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । प्रदेश नम्बर २ मा रहेका १ सय ३६ ओटा स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन गर्ने कार्यतालिका छ ।
सरकारले घोषणा गरेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भदौ २१ गते शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएपनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको समाचार प्राप्त भएको इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँले जनाएको छ ।
यसैबीच रौतहट जिल्लाको देवाही गोनाही गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच मनोनयन दर्ता गर्ने क्रममा जुलुस निकाल्ने विषयमा विवाद हुँदा झडप भएको छ । झडपका क्रममा एमालेका तीन जना र माओवादी केन्द्रका चार जना कार्यकर्ता घाइते भएको स्थानीय जितेन्द्र साहले बताए ।
धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासका अनुसार स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । एक उपमहानगरपालिका सहित १२ ओटा नगरपालिका र ६ ओटा गाउँपालिकामा राजनीतिक दल र स्वतन्त्र उमेदवारहरूले उत्साहजनक सहभागितामा आफ्नो मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता शान्तिपूर्ण रहेपनि सबै राजनीतिक दलका उम्मेदवारहरूबाट व्यपाक रूपमा आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । राजनीतिक दलहरू चुनाव चिन्ह अङ्कित भेष्ट, व्यानर र झण्डा सहित मनोनयन दर्ताका लागि आएका थिए । जनकपुर र धनुषाधाम नगरपालिकामा नेपाली काङ्ग्रेस उम्मेदवारहरूले बालबालिकालाई पार्टीको झण्डा बोकाएर जुलुसमा सहभागी गराएको थियो ।


रौतहट जिल्ला प्रतिनिधि विपिन गौतमका अनुसार तेश्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत भदौ २१ गते भएको उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । स्थानीय तह अन्तर्गत रौतहटका १६ ओटा नगरपालिका र दुई ओटा गाउँपालिकामा भएको मनोनयनमा जिल्लामा दर्ता भएका १८ ओटै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएको कार्यालयले जनाएको छ । सबैभन्दा बढी गौर नगरपालिकामा १७ जनाले मेयर र १८ जनाले उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत राजन श्रीवास्तवले बताए । अन्य स्थानीय तहको उम्मेदवारी दर्ताको पूर्ण विवरण भोलि बिहानसम्म आइपुग्ने उनले बताए ।



देवाही गोनाही गाउँपालिकामा झडप सात जना घाइते
मनोनयन दर्ता गर्ने क्रममा जुलुस निकाल्ने विषयमा विवाद हुँदा देवाही गोनाही गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको छ । झडपका क्रममा एमालेका तीन जना र माओवादी केन्द्रका चार जना घाइते भएको स्थानीय जितेन्द्र साहले बताए ।
पार्टी कार्यालय तोडफोड, नेतामाथि कुटपिट
टिकटको विषयमा विवाद भएपछि गरूडा नगरपालिकामा रहेको नेकपा माओवादी केन्द्रको कार्यालयमा स्वतन्त्र उम्मेदवार कन्थमणि जयसवाल समर्थित कार्यकर्ताहरूले तोडफोड गरेका छन् । नेपाली काङ्ग्रेससँग आबद्ध रहेका जयसवाललाई माओवादी केन्द्रले मेयरको उम्मेदवार बनाउने निश्चित भएपछि उनी केही महिना अघिमात्र माओवादी केन्द्रमा प्रवेश गरेका थिए । तर, मनोनयन दाखिला गर्ने दिन माओवादी केन्द्रले अर्कै उम्मेदवार बनाएपछि जयसवालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने उनका समर्थकहरूले माओवादी केन्द्रको कार्यालय तोडफोड गरेका छन् ।
यसैगरी नेपाली काङ्ग्रेस चन्द्रपुर नगरको टिकट आफ्नै घरबाट वितरण गरेको भन्दै काङ्ग्रेसका नेता अनन्त कोइरालालाई कार्यकर्ताहरूले उनकै घरमा आक्रमण गरी कुटपिट गरेका छन् ।
बारा जिल्ला प्रतिनिधि लक्ष्मी साहका अनुसार असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको चुनावको लागि उत्साहपूर्वक शान्तिपूर्ण उम्मेदवार मनोनयन दर्ता भएको छ । दुई उपमहानगर, पाँच नगरपालिका र नौ गाउँपालिकाका लागि राजनीतिक दल तथा केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । १६ ओटै स्थानीय तहमा १ सय ६७ वडा छन् । मनोनयन दर्ताको क्रममा थुपै गाडी र कार्यकर्ता समर्थकहरूले चुनाव चिन्ह अङ्कित टी-सर्ट लगाएर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् ।
पर्सा जिल्ला प्रतिनिधि केसी लामिछानेका अनुसार असोज २ गते हुने निर्वाचनको लागि पर्साका सबै स्थानीय तहमा मनोनयन दर्ता भएको छ । मनोनयन दर्ताको काम शान्तिपूर्ण भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बीरगंज महानगरमा दिनभर दलहरूका जुलुसले नगरको परिक्रमा गरिरहे । बाजागाजा सहितका जुलुसमा दलका कार्यकर्ताहरू उत्साह र उमङ्गका साथ नाचगान गरेका थिए । भोजपुरी भाषामा निर्माण गरिएका चुनावी गीतले बीरगंजको दिनभरिको वातावरणलाई सङ्गीतमय बनाएको थियो ।
प्रदेश नं २ को एक मात्र महानगर बीरगंजमा राजनीतिक रूपमा निर्वाचनको माध्यमबाट स्थापित हुन सबै दलहरूले मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । निर्वाचन आचारसंहिता विपरीत टोपी, टिसर्ट, झण्डाको व्यपाक प्रयोग भएको छ । जुलुसमा स्कार्पियो, टाटा सुमो, ट्रयाक्टर र ब्याटि्रबाट चल्ने अटोरिक्साहरूको प्रयोग भएको छ ।
सर्लाही जिल्ला प्रतिनिधि सन्तोषकुमार सिंहका अनुसार तेस्रो चरणको स्थानीय तह निर्वाचनको लागि प्रदेश नं. २ अन्तर्गत सर्लाही जिल्लामा उत्साहको साथ उम्मेदवारी दर्ता बिहानैदेखि जारी रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । मनोनयन दर्ताको काम शान्तिपूर्ण रूपमा भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले नजनाएको छ ।
२० ओटा स्थानीय तह कायम भएको सर्लाहीमा ३७ ओटा दल दर्ता रहेको जिल्ला निर्वाचन कार्यलय सर्लाहीले जनाएको छ ।
इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा राजनीतिक दलका नेता तथा कार्यकर्ता उत्साहित देखिएका छन् ।

महोत्तरीका १५ ओटै स्थानीय तहमा निकै उत्साहजनक तवरले शान्तिपूर्ण वातावरणमा मनोनयन दर्ता भएको महोत्तरीका प्रमुख निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए ।
बिहान १० बजेबाटै सुरू भएको उम्मेदवारी दर्ता प्रक्रियामा उमेदवारहरू आफ्ना पार्टीका नेता तथा कार्यकर्ताका साथमा बाजा गाजासहित मनोनयन स्थल पुगेका थिए ।

३ लाख ८ हजार ४ सय ४ मतादाता रहेको महोत्तरी जिल्लामा १० ओटा नगरपालिका र ५ गाउँपालिका छन् ।
साँझ पाँच बजेसम्म कार्यालय परिसरमा प्रवेश गर्नेहरूले रातिसम्म पनि मनोनयन दर्ता गराउन सक्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

यसैबिच महोत्तरीमा निर्वाचन मनोनयन दर्ता शान्तिपूर्ण रहेपनि चुनावी चहलपहल सुरू भएसँगै मुख्य राजनीतिक दलहरूले आ-आफ्ना पार्टीको प्रचारप्रसारको लागि जिल्लाका सबै सार्वजनिक स्थल र पार्टी पौवामा झण्डा टाँगेर आचारसंहिता उल्लङ्घन गरेका छन् ।
इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार स्थानीय तहको तेश्रो चरणको निर्वाचनका लागि भदौ २१ गते मनोनया दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
७ ओटा नगरपालिका र १० ओटा गाउँपालिका गरी १७ ओटा स्थानीय तहको लागि नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, सङ्घीय समजवादी फोरम, राजपा, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र उम्मेदवारले विभिन्न पदमा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउने क्रममा दलहरूले आचारसंहिता विपरीत डिजे बाजा, भेष्ट, टोपी, सवारी साधन र बालबालिका प्रयोग गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका एसपी शेखर कोइरालाले कुनै पनि अप्रिय घटना नभएको बताए । उम्मेदवार छनौटको क्रममा काङ्ग्रेस कार्यकर्ताबिच बिहान भएको झडपबाहेक अन्य घटनाहरू नभएको एसपी कोइरालाले बताए ।
उम्मेदवारी दर्ता गराउन दलहरू ढिला आइपुगेकाले ५ बजे भित्र निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका दलका उम्मेदवारहरूको मनोनयन प्रकृया चलिरहेकोले उम्मेदवारहरूको सङ्ख्या पुर्णरूपमा आइनपुगेको मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले बताए ।
इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार तेस्रो चरणको स्थानीय तह चुनावका लागि भदौ २१ गते सप्तरीमा भएको उम्मेदवार मनोनयन दर्तामा विभिन्न राजनीतिक दलहरूले बालबालिकाको प्रयोग गरेका छन् ।
निर्वाचन ऐन-२०७२ ले निर्वाचनमा बालबालिकाको प्रयोग निषेध गरेपनि मनोनयन दर्ताका लागि निकालिएको जुलुसमा प्रशस्त मात्रामा बालबालिकाको प्रयोग भएको छ ।
नौ ओटा नगरपालिकाको प्रमुख, उपप्रमुख र नौ ओटा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित १ सय ६५ वडामा हुने निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्वक र उत्साहपूर्ण रूपमा भएको मुख्य निर्वाचन अधिकृत शारदा कोइरालाले जानकारी दिए ।
बिहान १० बजेदेखि राजविराजस्थित मुख्य निर्वाचन अधिकृत र बाँकी १७ ओटा स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयहरूमा उम्मेदवारी मनोनयन दर्ता गराउन फाराम लिने तथा दर्ता गर्नेहरूको भीड लागेको थियो । उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो एक बजेदेखि भीड बढेपनि मनोनयन दर्ता कार्य शान्तिपूर्ण रूपमा भएको कोइरालाले जानकारी दिए ।
सप्तरीमा नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम नेपाल, राजपा नेपाल, नेपाल लोकतान्त्रिक फोरमले अधिकांश स्थानमा प्यानलै उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति र नेकपा संयुक्त गठबन्धनका उम्मेदवारहरूले पनि विभिन्न स्थानमा उम्मेदवारी दर्ता गरेका छन् । पार्टीबाट असन्तुष्ट दावेदारहरूले केही ठाउँमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
५ बजे अगावै कार्यालयको कम्पाउण्डभित्र प्रवेश गरिसकेका वडा अध्यक्ष र सदस्यहरूको उम्मेदवारी दर्ता गराउनेहरूको भीड निकै लामो रहेकाले दर्ता प्रकृया राति आठ बजेसम्म भइरहेको थियो ।