आगलागीबाट रामेछाप नगरपालिका–९ राताटारका अध्ययनरत बालबालिकाहरूको पाठ्य सामाग्री नष्ट भए पछि विद्यार्थीहरूको पठन पाठनमा समस्या भएको छ ।
राताटारमा ०८० चैत १ गते नजिकैको जंगलबाट लागेको आगो गाउँमा पसेपछि राताटारका १३ घर परिवारका घर, गोठ लगायतका सबै सम्पत्ति जलेर नष्ट भएका थिए । आगलागीमा विद्यालयका पोसाक, कपि–कलम सबै जलेपछि बालबालिकाहरू परीक्षाको बेलामा पठनपाठनबाट वञ्चित भएका छन् ।
आगलागीमा परेर घरमा भएका सबै सामान जल्दा स्थानीयको नगद, धनमाल, लुगाफाटो, अन्न, भाँडाकुँडा सबै जलेका थिए । त्यही आगलागीमा परी स्थानीय नवप्रभात आधारभूत विद्यालय राताटारामा पढ्ने पाँच जना बालबालिकाका विद्यालय पोसाक, किताब, कपि, कलम पनि सबै जलेका छन् ।
गाउँका अन्य व्यक्तिहरू, विद्यालय जाने बालबालिकाको शरीरमा लगाएका एकजोर लुगा बाहेक सबै लुगा तथा पाठ्य सामाग्री जलेका रामेछाप–९ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताउनु भयो ।
राताटार आधारभूत विद्यालयमा १३ जना विद्यार्थी छन् । उनीहरुको यस वर्षको अन्तिम परीक्षा चलिरहेको छ । ‘परीक्षाको बेलामा बालबालिकाको न विद्यालय पोसाक छ, न पढ्ने किताब छ, न त खाने कुराको ठेगान छ, न बस्ने र सुत्ने ठाउँ छ, गाउँकै बिजोग छ, बालबालिकाको त झन् बिजोग हुने नै भयो’, श्रेष्ठले भन्नुभयो ।