नयाँ शैक्षिक सत्र सुरु गर्ने विषयको अन्योलताले हालसम्म विद्यार्थीको हातमा कतै गत वर्षको पुस्तक पुगेको छ त कतै पुस्तक नै नपुगेको पाइएको छ ।
गत वर्षबाटै शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले परिपत्र गरेर देशभर वैशाख १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने जनाए पनि हिमाली जिल्ला हुम्लाका स्थानीय तहले आफ्नो निर्णय अनुसार फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गरेपछि हाल कक्षा पाँचदेखि १२ सम्मका विद्यार्थीको हातमा पुस्तक नपुगेको हो ।
जिल्लाकाे दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जयरुद्ध ढकालले हालसम्म कक्षा पाँचदेखि दशसम्मका पाठ्य पुस्तक विद्यार्थीको हातमा नपुगेपछि विद्यार्थी पठनपाठनबाट बञ्चित हुन पुगेको बताउनुभयो ।
ताँजाकोट गाउँपालिकाका विद्यालयमा गत फागुन ९ गतेबाट पढाइ सुरु भएको थियो । पुस्तक ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले जनक शिक्षा सामग्री केन्द्रले औपचारिक रुपमा कक्षा पाँचदेखि दशसम्मका पुस्तक बिक्री सुरु नगरेका कारण पुस्तक आइ नपुगेको जानकारी दिएको ढुवानीको जिम्मा लिएको सप्लायर्सले बताउने गरेको प्रमुख ढकालले जानकारी दिनुभयो ।
ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकामा पाठ्य पुस्तकको ढुवानीको जिम्मा लिएको एलबी सप्लायर्सका प्रतिनिधि लोकेन्द्र भण्डारीले जनक शिक्षाले पाठ्यपुस्तक बिक्री नै सुरु नगरेको कारण जिल्लामा ढुवानी नगरिएको बताउनुभयो । उहाँले नीजि क्षेत्रले कक्षा एकदेखि चारसम्मका पाठ्यपुस्तक बिक्री सुरु गरेको कारण विद्यालयमा पुर्याएर विद्यार्थीलाई वितरण गरिए पनि माथिल्लो कक्षाका पुस्तक नै आफूले नबुझेको बताउनुभयो ।
आफू जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जको सम्पर्क गएको तर पुस्तक बिक्री सुरु नभएको जानकारी पाएपछि फिर्ता भएको बताउनुभयो ।
त्यस्तै खार्पुनाथ गाउँपालिकामा पनि कक्षा पाँचदेखि दशसम्मका पाठ्य पुस्तक विद्यालयमा आइ नपुगेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख ललितजंग शाहीले बताउनुभयो । सो गाउँपालिकामा गत फागुन १६ गतेबाट पठनपाठन सुरु भएको भएपनि कक्षामा उपस्थिति हुने गरेको तर पुस्तक नभएर पढाइ नभएको मानधारा माध्यमिक विद्यालमा कक्षा ९ मा अध्यायनरत छात्रा सुस्मिता शाहीले गुनासो गर्नु भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भीमराज कार्कीले स्थानीय तहकै कारण विद्यार्थीको हातमा पुस्तक नपुगेको बताउनुभयो । इकाईबाट केन्द्रका देशभर शैक्षिक सत्र एउटै समय वैशाख १ गतेबाट सुरु गर्नुपर्ने निर्देशन आफूले सात ओटै गाउँपालिकामा पठाएको भए पनि त्यसलाई कुनै पनि गाउँपालिकाले कार्यान्वयन नगरेका कारण यो समस्या आएको प्रमुख कार्कीले आरोप लगाउनु भयो । केन्द्रको शैक्षिक सत्र सुरु गर्ने सन्दर्भमा एउटा सर्कुलर तर गाउँपालिकाले आफ्नै खाने निर्णय गरेर पुस महिनामा वार्षिक परीक्षा र फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णयको कारण अहिले यो समस्या आइ परेको प्रमुख कार्कीको भनाइ छ ।
जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जका प्रमुख होमराज ढुंगेलले केन्द्रबाट औपचारिक पत्र नआएको कारण पाठ्यपुस्तक बिक्री सुरु नभएको बताउनु भएको छ । विद्यालयमा वार्षिक परीक्षा नै सुरु नभएको सन्दर्भमा पाठ्य पुस्तक बिक्री सुरु नगरिएको उहाँले बताउनुभयो । उहाँले पुस्तकहरू ढुवानी भएर आउने क्रम सुरु हुन थालेको र अझै कक्षा पाँचको पुस्तक आइपुग्न समय लाग्ने बताउनुभयो ।