कालिमाटी गाउँपालिका–६ का स्थानीयबासीलाई वषौँदेखि खानेपानी समस्या रहेको छ । खानेपानीका लागि सिँचाइ कुलोको भर पर्न बाध्य भएका छन् । भैँसीदमार, भलाइबास र बेल्टरी गाउँका स्थानीयले सिँचाइका लागि कुलोमा आएको पानी उपभोग गर्दै आएका हुन् ।
बस्ती वरिपरी खानेपानीको मुहान नहुनु र टाढाबाट बस्तीमा खानेपानी ल्याउने कुनै योजना नबन्दा स्थानीयले सिँचाइका लागि ल्याएको पानी पिउन बाध्य छन् ।
स्थानीयका अनुसार गाउँ नजिक खानेपानीका मुहान छैनन् । खेतवारी सिँचाइ गर्नका लागि खोलाबाट दुई ओटा कुलोमा मानव बस्ती सम्म पानी ल्याएका छन् । स्थानीयले त्यही कुलोको पानी पाँच दशक देखि पिउनलाई प्रयोग गरिरहेको स्थानीय भक्त बहादुर थापाले बताउनु भयो ।
‘वि.सं.२०२९ सालमा छरछरे लगाएतका बिभिन्न स्थानबाट बसाईँ सरेर यहाँ आएका हौँ, खोलाको छेउ, उर्वर भुमी, समथर भुभाग र उत्पादन पनि राम्रो हुने भएपछि यहाँ आयौँ, जुन बेला हामी यहाँ आयौँ, त्यो बेला देखि नै यहाँ खानेपानीको समस्या थियो, पानी ल्याउन मुहान सम्म जाने हो भने दिनभर लाग्छ’ उहाँले भन्नुभयो ‘त्यो बेला देखि नै खेतवारीमा सिँचाइ गर्न कुलोमा पानी ल्याएका थियौँ अहिले पनि त्यही कुलोको पानी प्रयोग गर्दै आएका छन् ।’
उहाँका अनुसार विगतमा कुलोको पानी सफा नै थियो । मानव बस्ती कम थियो । तर अहिले कुलोको मुहान क्षेत्रमा बस्ती विस्तार हुदैँ गएकाले पानी पनि दुषित भएको उहाँको भनाइ छ । ‘अहिले त मान्छेको बसाईँ बाक्लो भयो, केही घरमा अझै शौचालय भेटिदैन्, भएकाले पनि खुल्ला शौच गर्छन्, यसले गर्दा वर्षातको समयमा पानी झन् दुषित हुन्छ, तर हाम्रो बाध्यता हो, कुलोकै पानी उपभोग गर्छौ’उहाँले थप्नुभयो ।
अर्का स्थानीय बिर्बी रोकाले कुलोको पानी पिउदा स्वास्थ्यमा समस्या देखिने गरेको बताउनुभयो । ‘हामीले कुलोको पानी पिउनलाई प्रयोग गरिरहेका छौ, वर्षातमा पानी धमिलो हुन्छ, साना–साना खाल्टा बनाउँछौँ, केही घण्टापछि माटोको लेदो एकातिर थिग्रिन्छ, अनि हामी पानी प्रयोग गछौ’ उहाँले भन्नुभयो ‘दुषित खानेपानीकै कारण बर्खामा झाडापखाला, आऊ, हैजा, रुघाखोकी लाग्ने त सामान्य भइसक्यो ।’
उहाँले कुलोको पानी वर्षातमा बढी धमिलो हुने भएकाले कतिपयले जुम खोलाको छेउमा खाल्टा बनाएरै पानी निकाल्ने गरेको बताउनुभयो । उहाँका अनुसार बस्ती देखि टाढा रहेको सिस्नेरीमा खानेपानीको मुहान छ । त्यस मुहानको पानी बस्तीसम्म ल्याउँदा प्रशस्त हुन्छ । तर पानी बस्तीमा ल्याउने न कुनै योजना छ, न त बजेट नै छ । जसका कारण आफूहरु खानेपानीकै लागि कुलोको भर पर्नुपरेको उहाँको भनाइ छ ।
यस क्षेत्रमा २७ घरधुरी रहेका छन् । उहाँहरुले खेतवारीमा सिँचाइ गर्ने, बस्तुभाउलाई खुवाउने र आफूले पिउने पानी नै कुलोको हो । गाउँपालिकाकै विकट र टाढाको बस्ती भएकाले पनि सरकारले खानेपानी योजना निर्माणमा ध्यान नदिएको स्थानीयको बुझाइ छ । यी बस्ती देखि वडा कार्यालय भएको बस्ती आधा घन्टाको दुरीमा रहेको छ । उक्त बस्तीका घरघरमा धारा भएपनि आफ्नो बस्तीमा भने अहिलेसम्म योजना सञ्चालन हुन नसकेको स्थानीय बताउँछन् ।
कालिमाटी गाउँपालिका–६ का वडाध्यक्ष टेकराज पुलामीले यस क्षेत्रका स्थानीयलाई सफा र स्वच्छ खानेपानीको पुहँचमा पु¥याउनको लागि पहल भैरहेको बताउनुभएको छ । ‘यहाँका स्थानीयले खानेपानीका लागि माग गर्दै आएका छन्, यहाँको मुख्य समस्या पनि खानेपानी हो, हामीले आउँदो वर्षमा निर्माण सम्पन्न गर्ने गरी खानेपानीको योजना निर्माण र बजेटको व्यवस्था गरेका छौँ’ उहाँले भन्नुभयो ‘आउँदो वर्षमा यहाँका तीन आटै बस्तीमा खानेपानी पुर्याउने हाम्रो लक्ष्य छ ।’

