आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी बराहतालगाउँपालिका–१० की २७ वर्षीया कौशिला मर्साङ्गी सिजाली मगरलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि चैत १ गते आर्थिक सहयोग गरेको छ ।
पीडित महिलाले ३२ वर्षीय पति बलबहादुर सिजाली मगरले मदिरा सेवन गरी घरेलु हिसा हिंसा गरेपछि जिल्ला अदालतमा घरेलु हिंसा सहितको सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नु भएको थियो । उहाँले मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा फागुन ९ गते निवेदन दिनुभएको थियो । थप कानुनी प्रकृयामा जानकालागि आवतजावत गर्न र कानुनी शुल्कमा समस्यामा परेको पीडितले बताउनुभयो ।
पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको फागुन २२ गते बसेको बैठकको निर्णय अनुसार नगद आठ हजार रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदनशुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।
