INSEC Online

📅 २०८३ जेष्ठ २१

बिरामी बालकको मृत्यु भएपछि दुई दिनदेखि अस्पतालमा सेवा अवरुद्ध

राजपुर गाउँपालिका-१, पटौली नाकाका नौ वर्षीय सुरेश कवरको घोराही उपमहानगरपालिका-१४ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा ०८० फागुन ३० गते उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तहरूले आन्दोलित हुँदा अस्पतालको सेवा दुई दिनदेखि अवरुद्ध भएको छ ।

अस्पतालको ओपीडी, वहिरङलगायतका सबै सेवा अवरुद्ध भएका छन् । आन्दोलनकारीहरूले अस्पताल घेराउ गरेपछि फागुन ३० गतेदेखि सेवा अवरुद्ध भएको र चैत १ गते बिहानैदेखि प्रहरीले सुरक्षा घेरा बनाएको छ । अस्पतालमा भर्ना भएका बाहेक अरु सेवा ठप्प भएको अस्पताल सञ्चालक बालाराम शर्माले जानकारी दिनुभयो ।

Photo14032024Dang1

टङ्सीलका कारण गाला सुन्निएर उपचारका लागि फागुन ३० गते ओपीडीमा जाँच गर्न पुगेका बालकको गालाबाट पिप तान्ने भन्दै नाक, कान र घाटी विशेषज्ञ डा. आशिष खड्गीले सिरिञ्ज मुखभित्रबाट रोपेको तर पिप नआइ निरन्तर रक्तस्राव भएपछि बालक बेहोस भइ ज्यान गएको मृतक बालकको आमा भिकी कवरले बताउनु भयो । उहाँले सिरिञ्ज निकाल्ने वित्तिकै नाक, मुख र कानबाट रगत बग्न थालेपछि आफूलाई बाहिर पठाइएको बताउनु भयो ।

पटौली नाकाबाट पाँच घण्टा हिँडेर राजपुरमा आएको र त्यहाँबाट बस चढेर घोराही आउनुभएको कवर फागुन २९ गते आफन्तको घरमा बसेर फागुन ३० गते बुद्ध हस्पिटलमा उपचारका लागि जानुभएको थियो । अस्पताल प्रशासनले आधारिक रूपमा बोल्न नमाने पनि सिरिञ्ज नसामा परेर अत्यधिक रक्तस्राव भएको र आन्तरिक रक्तस्राव भएकाले फोक्सोमा रगत जम्न गइ बालकको ज्यान गएको अस्पतालकै चिकित्सकले बताए । बालकको मृत्यु भएपछि आफन्तहरू आन्दोलित भएका हुन् ।

अस्पतालमा जम्मा भएका उनीहरूले अस्पतालका झ्याल, ढोकाका सिसा, गमला तोडफोड गरेका छन् । थप घटना हुन नदिन प्रहरीले अस्पतालको सुरक्षा दिइरहेको छ । आन्दोलनरत पक्ष र अस्पताल प्रशासनबीच चैत १ गते बिहानैदेखि वार्ता भइरहेको र सहमतिका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लले बताउनु भयो । उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाही हुनुपर्ने मृतकका बुवा तथा राजपुर गाउँपालिका-१ का वडा सदस्य शालिकराम कवरले बताउनु भयो । सहमति नभएपछि बालकको शव फागुन ३० गतेदेखि हस्पिटलमै राखिएको छ ।

Photo14032024Dang

अन्य

भिडियो