INSEC Online

📅 २०८३ जेष्ठ २१

ठाउँ अभावमा नवजात शिशु र सुत्केरीको भूइँमै उपचार

मेडिकल सिटीको रूपमा चर्चा पाएको भरतपुर र जिल्लाकै सुविधा सम्पन्न मानिएको भरतपुर अस्पतालको सुत्केरी वार्डमा आवश्यक पूर्वाधार नहुँदा सुत्केरी र नवजात शिशुहरू भूइँमै राखेर उपचार गराइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले बच्चा जन्मदेखि २४ घण्टासम्मको अवधि निकै चुनौतिपूर्ण हुने उल्लेख गरेको छ । त्यस्तै २४ घण्टा अघि अस्पतालबाट डिस्चार्ज समेत गर्न नहुने स्वास्थ्य संगठनको भनाइ रहेको छ । तर, सुत्केरी र नवजात शिशुले भने शैयाको अभावमा भूइँमै बसेर उपचार गराइरहेका छन् । त्यस्तै विरामी र शिशुको अवस्था २४ घण्टासम्म निरन्तर जाँच नगरी सामान्य भन्दै घर पठाउने गरिएको छ ।

‘अकस्मात सुत्केरी गराउन आउँछन्, बच्चा जन्मिएपछि शैया अभावमा भूइँमै उपचार गराउन बाध्य भएका छौं ।’-भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रूद्र मरासिनीले भने-‘शैया थोरै छ । सुत्केरी सेवा लिन आउने धेरै छन् ।’

दैनिक ६० जना र चितवनमा ९० प्रतिशत सुत्केरी गराउने भरतपुर सरकारी अस्पताल रहेको भन्दै मेसु डा. मरासिनीले हाल देखिएको समस्या समाधानका लागि अस्थायी भवनको बारेमा पनि सोच बनाइएको जानकारी गराए ।

उत्कृष्ट सेवा दिएको भन्दै गत हप्ता मात्रै यस अस्पतालले राजधानी काठमाडौँमा ‘स्वास्थ्य खबर’ पत्रिकाबाट उत्कृष्ट अस्पतालको अवार्ड पाएको थियो ।

अस्पतालमा रहेको ५० शैया अपुग भएपछि सुत्केरी र नवजात शिशुको भूइँमै उपचार हुने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए । अस्पतालको भौतिक पूर्वाधारको विकासमा ध्यान नदिँदा चिकित्सक र उपचार उपकरण उत्कृष्ट भए पनि सेवाग्राही सन्तुष्ट हुन सकेका छैनन् ।

सुत्केरीहरू गर्मीको समयमा नवजात शिशु लिएर अस्पताल भवन बाहिर रात बिताइरहेका हुन्छन् । भूइँमा पनि खचाखच गरेर सुतिरहेका देखिन्छन् । अबोध नवजात शिशुहरू जन्मने बित्तिकै भूइँमा सुत्न बाध्य छन् । सुगम र पर्याप्त उपचार सेवा भनिएको जिल्लामै यस्तो उपचार सेवाले भने सुत्केरीहरू नै अचम्ममा परेका छन् ।

‘यहाँको उपचार गराउने तरिका ठीक छ । तर, भूइँमा बसेर उपचार सेवा लिनुपर्दा निकै गाह्रो भएको छ ।’-शुक्रनगरकी नम्रता महतोले भनिन् । चिसो भूइँमा राखेर गरिने उपचारले बच्चा र आमालाई नै भविष्यमा जोखिमको खतरा रहने चिकित्सकहरू बताउँछन् ।

अन्य

भिडियो