बर्दियामा घरेलु हिंसाका घटना बढेको छ । जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवामा केन्द्रको तथ्याङ्क अनुसार घरेलु हिंसा बढेको पाइएको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ को माघ सम्ममा २ सय ८६ ओटा घरेलु हिंसा घटनाको उजुरी परेको छ । जसमध्ये २ सय ५४ ओटा घरेलु हिंसामा घटना छलफल पछि मिलापत्र भएको छ । नौ ओटा निवेदनमा मिलापत्र नभएपछि अदालतमा मुद्दा दर्ता भएको छ । यसवर्ष घरेलु हिंसा आएको उजुरी पछि दुई ओटा बहुविवाहमा गएर मुद्दा दर्ता भएका छन् भने २१ निवेदनमा छलफल हुन बाँकी रहेको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा २ सय ३५ ओटा घरेलु हिंसाको उजुरी परेको थियो । जसमध्ये २ सय १० ओटा निवेदनको छलफल भएर मिलापत्र भएको थियो भने बाँकी २५ ओटा निवेदनको मिलापत्र नभएपछि अदालतमा मुद्दा दर्ता भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा २ सय १ ओटा घरेलु हिंसाको उजुरी परेको थियो । जसमध्ये १ सय ७० ओटा निवेदनमा छलफल भई मिलापत्र भयो भने बाँकी ३१ ओटा निवेदन छलफलबाट मिलापत्र नभएपछि अदालतमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ ।
बर्दिया नागरिक समाज सञ्जालको संयोजक हिमा सुनारले घरेलु हिंसा हुनुको कारण गरिबी, अशिक्षा, बेरोजगारी, लागुऔषधको प्रयोग, मादक पदार्थको सेवन, बालविवाह, महिलाहरू आर्थिक परनिर्भरता भएको बताउनु भयो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रहरी सहायक इन्स्पेक्टर सरस्वती पौडेलले आधिकांश घरेलु हिंसा गरिबीका कारण हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘गरिबीका कारण घरमा आर्थिक समस्या हुन्छ । आर्थिक समस्याको समाधान गर्न नसक्दा त्यसले अनेक खालका समस्या आउने गर्छ । जसको कारण परिवारमा कलह भएर घरेलु हिंसा हुने गरेको छ । घरेलु हिंसामा परेकाले शारीरिक, मानसिक यातना भोग्दै आउने गरेको पाइएको छ ।’
घरेलु हिंसा परेको उजुरीका आधारमा सामान्य खालमा घटनामा दुबै पक्षलाई राखेर छलफल गराइ मिलापत्र गराएर पठाउने गरेको प्रहरी सहायक इन्स्पेक्टर पौडेलले बताउनु भयो । उहाँले मिलापत्र गरेर गए पनि फेरि घरेलु हिंसा भएको छ छैन भनेर समय समय पीडितसँग महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र फोन मार्फत कुराकानी गर्ने गरिएको जानकारी दिनुभयो ।
नागरिक समाज सञ्जालको संयोजक सुनारले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने, घरेलु हिंसा गर्दा हुने कानुनी कारबाहीको जानकारी दिने, स्थानीय सरकार लगायत सरोकारवाला निकाय सक्रिय हुनुपर्ने बताउनु भयो ।
त्यसैगरी उहाँले मादक पदार्थ बिक्रीवितरण गर्ने समय तोक्ने र घरेलु हिंसा गर्नु हुँदैन भनेर सचेतना जगाउने लगायतको कार्यक्रम गरेर व्यवहारमा परिवर्तन ल्याउन सके घरेलु हिंसा नियन्त्रण हुने बताउनु भयो ।
एक पटक मिलापत्र भएका घरेलु हिंसाका घटना नदोहोरियोस् भनेर सेवा केन्द्रले पीडितसँग निरन्तर सम्पर्कमा रहेर काम गर्ने गरेको छ भने मिलापत्र हुन नसक्ने गम्भीर खालका घटनालाई कानुनी प्रकृयामा जाने गरेको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ ।