INSEC Online

📅 २०८३ जेष्ठ २१

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा होस्टेल सञ्चालक गिरफ्तार

विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीन जना छात्रालाई होस्टलको कोठाभित्र हातपात गरी दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका-८ मधुमारास्थित मुनलाइट गल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई फागुन ३० गते गिरफ्तार गरेको छ ।

पीडित छात्राहरूसँग आरोपितले ०८० चैत महिनाको पुरै शुल्क मागेको र चैत ३ गतेसम्मको शुल्क तिर्दा चैतभरीको होस्टेल शुल्क मागेपछि छात्राहरूले चैतको ३ गतेसम्मको दिएको र बाँकी शुल्क अस्वीकार गरेपछि आरोपितले छात्राहरूलाई गाली गर्दै दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीले बताउनु भयो । छात्राहरुलाई दुर्व्यवहार गरेको आरोपमा रेग्मीलाई विराटनगर महानगरपालिका-८ मधुमाराबाट अनुसन्धानका लागि गिरफ्तार गरेको एसपी कार्कीले बताउनु भयो ।

विराटनगर नर्सिङ क्याम्पसमा पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कञ्चनपुर स्थायी घर भएका छात्रालाई रेग्मीले दुर्व्यवहार गरेको एसपी कार्कीको भनाइ छ । छात्राहरू होस्टेलमा ०८० फागुन ३ गतेदेखि बसिरहेका थिए । उनीहरूले चैत ३ गतेसम्मका लागि अग्रिम ८ हजार रुपियाँ बुझाएको प्रहरीको भनाइ छ ।

कलेजकै होस्टेलमा बस्नेहरूको सूचीमा भर्खरै उनीहरूको पनि नाम निस्किएको थियो । उनीहरू फागुन ३० गतेदेखि कलेजको होस्टेलमा बस्ने तयारी गरेको कलेज प्रशासनले जनाएको छ । कलेजको होस्टेलमा बस्ने भएपछि छात्राहरूले मुनलाइट गल्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारी फागुन ३० गतेका लागि गरेका थिए । चैत ३ गतेसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालक मधुले छात्राहरुसँग एडभान्स भन्दै थप ३-३ हजार रुपियाँ मागेपछि छात्राहरूले रकम दिन अस्वीकार गरेका थिए ।

होस्टल सञ्चालक मधुले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरूले कलेजमा सम्पर्क गरेका थिए ।  कलेज प्रशासनले दुर्व्यवहारमा परेका तीनै जना छात्राहरूलाई फागुन २९ गते राति आफ्नै होस्टलमा राखेको छ । विराटनगर नर्सिङ कलेज प्रमुख मेनुका भण्डारीले छात्राहरूमाथि अमानवीय व्यवहार भएको बताउनु भयो ।

पीडित पक्षले आरोपितविरूद्ध फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितविरूद्ध अभद्र व्यवहार शीर्षकमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो