INSEC Online

📅 २०८३ जेष्ठ २१

सात वर्षमा पनि न्यायिक समिति प्रभावकारी बन्न नसक्दा समस्या

नेपालको संविधानको धारा २१७ मा व्यवस्था भए अनुसार कानुन बमोजिम आफ्नो अधिकार भित्रका विवाद निरुपण गर्न स्थानीय तहमा उपाध्यक्ष उपप्रमुखको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय समिति नै न्यायिक समिति हो । तर, कानुन अनुसार समिति गठन भए पनि आवश्यक व्यावस्थापन नहुँदा प्रभावकारी बन्न नसक्दा समस्या भएको छ । स्थानीय तह कार्यान्वयमा आएको करिव सात वर्ष हुँदा पनि न्यायिक समितिले आफुलाई अब्बल बनाउन सकिरहेका छैनन् ।

जिल्लामा गत तीन आर्थिक वर्षमा १२ स्थानीय तहमा एक सय ८८ उजुरी दर्ता भएका छन् । उदाहरणको रूपमा रेसुङ्गा नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष ०७७/७८, ०७८/७९ र ०७९/८० गरेर तीन आर्थिक जम्मा आठ उजुरी परे । तीन आर्थिक वर्षमा क्रमशः तीन, तीन र दुई उजुरी दर्ता भएका हुन् । त्यस्तै चन्द्रकोट गाउँपालिकामा गत तीन आर्थिक वर्षमा २६ ओटा उजुरी परेका छन् । ०७८/७९ र ०७९/८० गरेर तीन आर्थिक जम्मा आठ उजुरी परेका छन् । तीन आर्थिक वर्षमा क्रमशः सात, नौ र १० उजुरी दर्ता भएका छन् । यी त प्रतिनिधि स्थानीय तह हुन् । न्यायिक समिति प्रभावकारी नभएकै कारण स-साना विवाद र मुद्दा पनि अन्य निकायमा जान थालेपछि अधिकांश न्यायिक समितिमा उजुरीको सङ्ख्या अत्यन्तै न्यून रहेको छ ।

सात वर्षसम्म स्थानीय तहमा छुट्टै इजलास कक्ष नहुँदा संयोजकहरूले आफ्नै कार्यकक्षमा मुद्धाको छलफल गराउनु पर्ने अवस्थामा छन् । रेसुङ्गा र मुसिकोट नगरपालिका, मालिका, मदाने, धुर्कोट, गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र, कालीगण्डकी र सत्यवती गाउँपालिकामा न्याय सम्पादनका लागि न्यायिक इजलास कक्ष छैनन । पहिलो नेतृत्व भाडाको घरमा भएको र संरचनाकै कारण न्यायिक इजलास नभएकाले अहिले नयाँ भवन निर्माण भएकाले छिट्टै निर्माण गर्ने मुसिकोट नगरपालिका उपप्रमुख गङ्गा श्रेष्ठले बताउनु भयो । ‘इजलास नहुँदा सबैको बिचमा छलफल गराउन समस्या हुने उपप्रमुख श्रेष्ठले उल्लेख गर्नुभयो । तर, संरचना नभएकाले बनाउन पनि नसकिएको उहाँले बताउनु भयो । श्रेष्ठले भन्नुभयो,‘नयाँ भवन बनेकाले केही समयमै इजलास बनाउँछौँ ।’

न्यायिक समिति प्रभावकारी बनाउनेमा स्थानीय तहका नेतृत्वहरू नै सचेत छैनन् । जसका कारण बजेट विनियोजनमा समेत स्थानीय सरकारको ध्यान छैन् । आर्थिक वर्ष २०७९/८० मा रेसुङ्गा र मुसिकोट नगरपालिका, मालिका, मदाने, धुर्कोट, इस्मा, गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र र कालीगण्डकी गाउँपालिकाले बजेट विनियोजनै गरेका छैनन् । त्यस्तै स्थानीय तहले न्यायिक समितिमा विवाद निरुपणको लागि मेलमिलापकर्ताहरू सूचीकृत गराउनुपर्छ । तर, गुल्मीदरबार गाउँपालिकामा बाहेक अरु स्थानीय तहमा मेलमिलापकर्ता सूचीकृत छैन् । सूचीकृत गरिएका स्थानीय तहमा पनि कार्यसम्पादन अनुसारको सेवा सुविधा दिने आर्थिक व्यावस्थापन नहुँदा समस्या बल्झिएको छ । रेसुङ्गा नगरपालिकाको न्यायिक समिति संयोजक उपप्रमुख अमृतादेवी कुँवरले संविधानले प्रदान गरेको अधिकार अनुसारको श्रोत र साधन उपलब्ध नहुँदा न्यायिक समितिले सोचे अनुसारको काम गर्न नसकेको बताउनु भयो ।

जिल्लाको चन्द्रकोट गाउँपालिकामा बाहेक अधिकांश न्यायिक समितिमा न्याय सम्पादनको लागि छुट्टै कर्मचारी छैनन् । स्थानीय तहमै दरबन्दी अनुसारका ५० प्रतिशत कर्मचारी नभएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनु भयो । कुनै न कुनै शाखा हेरिरहेका कर्मचारीलाई न्यायिक समितिको थप काम गराउँदा भनेकै समयमा मुद्धा फर्सौटमा समस्या भइरहेको समिति संयोजकहरूको गुनासो छ । जिल्ला प्रशासन कार्यालय, गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले विभिन्न कारणले न्यायिक समितिमै निरुपण हुने उजुरीहरू जिल्ला प्रशासन र प्रहरीसम्म आउने गरेको बताउनु भयो ।

गाउँमै हुने न्याय निरुपण अज्ञानताका कारण प्रहरी प्रशासनसम्म आउँदा थप आर्थिक व्ययभार थपिने भएकाले न्यायिक समिति प्रभावकारी बन्नुपर्नेमा गैरेले जोड दिनुभयो । न्यायिक समितिमा अधिकांश उजुरी पारिवारिक बेमेलका छन् । इस्मा गाउँपालिका न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले धेरै उजुरी सम्बन्ध विच्छेद तर्फ केन्द्रित भएर आउने भएकाले आफूहरूले सकेसम्म मिलापत्र गराउने र मिलापत्र नभएको खण्डमा अदालत पठाउने गरेको बताउनु भयो । कुँवरले पीडित र पीडकहरूलाई उचित परामर्शको आवश्यक रहेको औँल्याउनु भयो ।

अन्य

भिडियो