INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षबाट विद्यालयको बसमा आगजनी

गढवा गाउँपालिका–६ स्थित  ज्ञानज्योती इङ्गलिस बोर्डिङ स्कुलको बसमा अज्ञात पक्षले फागुन २५ गते राती आगजनी गरेको छ ।

बस चालक अर्जुन योगीले फागुन २३ गते विद्यार्थीहरूलाई घर छाडेर गढवा गाउँपालिका–२ स्थित आफ्नै घरको आगनमा पार्किङ गरी राखेको लु १ क ५३३५ नम्बरको बसमा अज्ञात पक्षले आगजनी गरेको विद्यालयका प्रिन्सिपल दिपककुमार यादवले जानकारी दिनुभयो ।

बस चालक र परिवार घरमा सुतिरहेको मौका छोपेर आगजनी गरिएको र छिमेकीले बसमा आगजनी भएको भन्दै जानकारी दिएपछि इलाका प्रहरी कार्यालय गढवामा खबर गरिएको थियो ।

दमकलबाट आगो नियन्त्रण गरिएपनि बस जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय, गढवाका इन्स्पेक्टर नविन वलीले जानकारी दिनु भयो ।

विद्यालयका प्रिन्सिपल यादवले घटनाको छानविनको माग गर्दै फागुन २६ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएको बताउनु भयो ।

आगजनीबाट १२ लाख रूपियाँ बराबरको क्षति भएको र आगजनीबारे अनुसन्धान भइरहेको वलीले बताउनु भयो ।

अन्य

भिडियो