INSEC Online

📅 २०८३ जेष्ठ २१

पाठ्य पुस्तक सदरमुकाममा थन्किएपछि विद्यालयमा पठन पाठन प्रभावित

जिल्लाको उत्तरी क्षेत्रका विद्यालयहरूको पाठ्य पुस्तक सदरमुकाम सिमकोटमै थन्किएपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको छ । शैक्षिकसत्र फागुन २ गतेबाट सुरू पनि पाठ्य पुस्तक नभएर विद्यालयमा पठनपाठन प्रभावित भएको हो ।

एकसातादेखि जिल्लामा परेको भारी हिमपातका कारण सदरमुकाम सिमकोटमै थन्किएको भन्दै फागुन २३ गते नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालयको ध्यानार्कषण गराएको हो ।

उपाध्यक्ष लामा सहितको टोलीका अनुसार कर्णाली करिडोर अन्तर्गतको सिमकोट हिल्सा सडक खण्ड हिमपातका कारण नखुलेपछि विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । सो हिमपातका कारण नाम्खा गाउँपालिकाका–१ देखि ६ र सिमकोट गाउँपालिकाका–७ र ८ नम्बर वडामा सञ्चालित विद्यालयहरूको पठनपाठनमा केही समस्या आएको सिमकोट गाउँपालिका–८ का वडाध्यक्ष कमलबहादुर बुढाले बताउनुभयो ।

सदरमुकाम सिमकोटमा पुस्तक पुगे पनि बाटो अवरुद्धका कारण विद्यालयमा पाठ्य पुस्तक नपुगेपछि सडकमा जमेको हिउँ पञ्छाउनका लागि प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल समक्ष अनुरोध गरेको सिमकोट गाउँपालिका–७ का वडाध्यक्ष बलविर शाहीले बताउनु भयो ।

नाम्खा गाउँपालिकाका १७ ओटा विद्यालयका १ हजार १ सय ५१ र सिमकोट गाउँपालिका दुई ओटा वडाका आठ ओटा विद्यालयका १ हजार ४ सय ८७ जना विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
नाम्खा गाउँपालिकामा बुद्ध आधारभूत विद्यालयमा ९६, नमडुछोमु प्राथामिक विद्यालय २२, नाम्खा ख्योमजोङ्ग प्राथामिक विद्यालय २४, नमुवुद्ध प्राथामिक विद्यालय ९६, सत्य प्राथामिक विद्यालय २७, तातोपानि आधारभूत विद्यालयमा ७२, च्याछरा प्राथामिक विद्यालय १७, मोतिराम प्राथामिक विद्यालय ३९, भृकुटि प्राथामिक विद्यालय २६, सुनखानि प्राथामिक विद्यालय ५०, अरनिको प्राथामिक विद्यालय ४०, हिमालय प्राथामिक विद्यालय ८, हिमशिखर प्राथामिक विद्यालय ३, खिरपानि प्राथामिक विद्यालय २३, खासरपानि आधारभूत विद्यालयमा ४८, महाबौद्ध माध्यमिक विद्यालय ३ सय ३१ र नामख्योङ  महामाया आधारभूत विद्यालयका ३ सय १० जना विद्यार्थी रहेको शिक्षा शाखा प्रमुख मनराज बुढाले बताउनु भएको छ ।

त्यस्तै सिमकोट गाउँपालिका–७ मा रहेको कर्णाली माध्यमिक विद्यालयमा ३५०, कैलाश माध्यमिक विद्यालयमा २ सय ६३, दोभान आधारभूत विद्यालय दुई, सर्केदउ आधारभूत विद्यालय १५, सनसाइन बोर्डिङ्ग स्कुलमा १ सय ६६ रहेका छन । वडा नम्बर ८ मा  सैपाल हिमाल माध्यमिक विद्यालयमा ३ सय ६६, कान्ति आधारभूत विद्यालयमा १ सय ४२, बलभद्र आधारभूत विद्यालयमा १ सय ६२ जना विद्यार्थीले पठनपाठन गर्दै आएको सिमकोट गाउँपालिका शिक्षा शाखाका नायव सुव्बा कृष्ण प्रसाद आचार्यले बताउनुभयो ।

जनक शिक्षा सामग्री केन्द्रले छपाई ढिला गर्दा समयमै पाठ्य पुस्तक पुगेन

जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरले पुस्तक छपाईमा ढिलाई गर्दा समयमै पाठ्य पुस्तक नपुगेको हुम्लाका लागि पुस्तक ढुवानीको जिम्मा लिएको रोकाया पुस्तक पसलका प्रोपाइटर धनजवा रोकायाले बताउनु भएको छ ।

उहाँका अनुसार नेपाल सरकारले माध्यामिक तहसम्म निःशुल्क रुपमा दिंदै आएको पाठ्य पुस्तक केन्द्रले छपाईमा लापरबाही गरेपछि हुम्लामा केही पाठ्य पुस्तक आइ नपुगेको हो । उहाँले हालसम्म १, २ र ५ कक्षाको पुरै सेट केन्द्रले छपाईमा ढिला गरेपछि विद्यार्थीहरू पठनपाठनबाट बञ्चित भएको बताउनुभयो ।

आफूले जिम्मा लिएको नाम्खा गाउँपालिका विद्यालयको १ हजार २ सय सेट मध्ये  ९ सय सेट र सिमकोट गाउँपालिका विद्यालयको ३ हजार सेट मध्ये २ हजार २ सय सेट जिल्लामा आइपुगेको ढुवानी कर्ता रोकायाले बताउनुभयो ।

जिल्लामा आइपुगेका पाठ्य पुस्तक मध्ये सदरमुकाम स्थितका विद्यालयहरुले बुझेर लगिसकेका छन् भने सदरमुकाम आसपास र नाम्खा गाउँपालिकाका केही विद्यालयहरुले आफूबाट बुझेर लगे पनि बाग्लो हिमपातका कारण आफ्नै गोदाममा थन्किएको रोकायाको भनाइ छ ।

हिमपातका कारण विद्यालयसम्म पाठ्य पुस्तक ढुवानीमा समस्या आएको भन्दै जनप्रतिनिधले आफ्नो ध्यानार्कषण गराएकोले तत्काल स्काभेटर लगाएर हिउँ पञ्छाउने कार्य गर्न तयारी रहेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले बताउनु भयो ।

 

 

Photo20240307Humla (3)

Photo20240307Humla (2)

अन्य

भिडियो