आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी वीरेन्द्रनगर नगरपालिका–७ की ३२ वर्षीया संगिता विश्वकर्मालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि फागुन २३ गते आर्थिक सहयोग गरेको छ ।
पीडित महिलाले ३३ वर्षीय पति सुरज नेपालीले बहुविवाह गरेर घरेलु हिसा हिंसा गरेपछि ०८० मङ्सिर ०७ गते जिल्ला अदालत सुर्खेतमा बहुविवाहको मुद्दा दर्ता गर्नु भएको थियो । उहाँले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा माघ २९ गते निवेदन दिनुभएको थियो ।
त्यस्तै गरी, दैलेख जिल्लाको भैरवी गाउँपालिका – ६ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–९ की २१ वर्षीया पुष्पा शाही कार्कीलाई पनि कानुनी प्रक्रियामा जानका लागि सहयोग गरिएको छ । पीडित महिलाले २९ वर्षीय पति महेन्द्र कार्कीले कुटपीट गरी घरेलु हिंसा गरेकोले अदालतमा अंशसहितको सम्बन्ध विच्छेद मुद्दा दायर गर्नु भएको छ । मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा फागुन १ गते निवेदन दिनुभएको थियो । थप कानुनी प्रकृयामा जानका लागि आवतजावत गर्न र कानुनी शुल्कमा समस्यामा परेको पीडितले बताउनुभयो ।
पीडित दुबै जनालाई निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको फागुन २२ गते बसेको बैठकको निर्णय अनुसार क्रमस नगद सात हजार रुपियाँ र दश हजार रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।

