पातारासी गाउँपालिका–२ तल्फीगाउँमा आगलागीबाट घर जलेपछि २८ जनाको परिवार विचल्लीमा परेका छन् । तल्फीगाउँका कालसिंह सार्कीको घरमा फागुन ११ गते राती आगलागी भएको थियो । आगलागीबाट दुई तले ८ कोठाको घर जलेर पूर्णरुपमा नष्ट भयो ।
आगलागीले घर पूर्णरुपमा जलेपछि सार्कीको २८ जनाको परिवार विचल्लीमा परेको स्थानीय मानबहादुर बोहोराले बताउनु भयो । उहाँका अनुसार फागुन ११ राती एक्कासी बस्ने कोठाबाटै आगलागी भएको थियो । अन्नपात, भाडा लत्ताकपडा सबै जलेका छन् । उहाँले भन्नुभयो कालसिंहको घरमा साना बालबच्चा छन् । आगलागीले सबै जलेपछि बासमात्रै होइन, लत्ताकपडा र खानेकुराको समेत समस्या भएको छ ।
आगलागीमा मानवीय क्षति भएन । तर सुनँचादी, तीन पुस्ते सम्पत्ति सबै जलेको छ,’ उहाँले भन्नुभयो, ’२८ जनाको परिवार रहेछ, त्यसमध्ये २३ जना भने संयुक्त रुपमै बस्दै आएका रहेछन् । घर जलेर ध्वष्ट भएपछि कालसिंहको परिवार घरबारविहीन भएको छ ।’ कालसिंहका दुई छोरा तारासिंह सार्की र पुर्ण सार्कीको गतवर्ष मुगुको हिमपहिरोमा परी मृत्यु भएको थियो । गतवर्ष दुई छोरा गुमाएका कालसिंहले यसवर्ष छानो र मानो गुमाएका छन् । उहाँमाथि मानसिकरुपमा समेत ठुलो बज्रपात परेको छ ।
आगलागी पीडित सार्कीका अनुसार घर जलेर सबै नष्ट भइसक्यो । ठुलो परिवार छ । अहिले कोही छिमेकीको घरमा कोही पालमा बस्दै आएका छौँ । याे चिसाेमा ज्यान जोगाउन मुस्किल भएको छ ।
आगलागीबाट ४१ लाख १५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर यम बहादुर बुढा मगरले बताउनु भयो । उहाँले भन्नुभयो आगलागी कसरी भयो अझै खुल्न सकेको छैन ।
गाउँपालिकाबाट सिरक डसना, चामल, नेन, तेला र लत्ताकपडा सहयोग गरिएको पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले बताउनु भयो । उहाँले भन्नुभयो, तत्काललाई सानै भएपनि सहयोग गरेका छौं । पछि सकेको अरु सहयोग पनि गर्नेछौं । ’
