INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी नामाकरण विवाद : फागुन १७ लाई कालो दिन घोषणा गर्दै विरोध

कोशी प्रदेशसभाले ०७९ फागुन १७ गते दुई तिहाइ मतले कोशी प्रदेश नामाकरण गरेको दिनलाई पहिचान पक्षधरहरूले कालो दिनको रूपमा लिएका छन् ।

Photo 20240229 Ilam

पहिचान पक्षधरहरूले कोशी प्रदेश नामाकरण भएको दिन फागुन १७ गते कालो दिन भन्दै ०८० फागुन १७ गते इलाममा विरोध जनाएका छन् । पहिचानको पक्षमा आन्दोलनरत प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिले फागुन १७ लाई ‘अँध्यारो दिन’ भनेको छ ।

संयुक्त सङ्घर्ष समितिको आयोजनामा इलाम चोक बजारको लाकुरी चौतारामा विरोधसभा गरिएको पहिचान पक्षधर आन्दोलनका संयोजक डकेन्द्रसिंह थेगिमले बताउनु भयो । सदरमुकामको ठूलो टुँडीखेलबाट रत्नचोक हुँदै इलाम चोकबजारसम्म विरोध र्‍याली गरिएको थेगिमले बताउनु भयो ।

प्रदर्शनक्रममा सदरमुकामको ठूलो टुँडिखेलबाट सुरु भएको र्‍याली मालापथ हुँदै कोणसभामा परिणत भएको थियो । कोणसभालाई संयोजक थेगिम, किराँत राई यायोक्खाका उपमहासचिव कृष्ण राई र नागरिक उन्मुक्ति पार्टीका महासभा सदस्य भवीराज लिम्बूले सम्बोधन गर्नु भएको थियो ।

कोशी प्रदेशका १४ ओटै जिल्लामा फागुन १७ लाई कालोदिनको रूपमा स्मरण गर्दै कोशी नाम खारेजीको मागसहित विरोध प्रदर्शन गरिएको किराँत याक्थुङ चुम्लुङकी बुद्ध सोङमीले बताउनु भयो । प्रदर्शनमा आदिवासी जनजाति महासङ्घमा आबद्ध सबै जातीय संस्थाको सहभागिता रहेको सोङमीको भनाइ छ ।

पहिचान पक्षधरले फागुन १७ गतेलाई कालोदिन रूपमा घोषणा गरेपनि कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधर र कोशी प्रदेश सरकारबिच ०८० माघ २५ र २६ गते भएको दोस्रो चरणको वार्तापछि पाँच बुँदे सहमति भएको छ ।

पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने सहमति भएको छ ।

photo-20240209-morang-1
पहिचान पक्षधर र कोशी प्रदेश सरकारबिच ०८० माघ २६ गते भएको सहमति ।

अन्य

भिडियो