कञ्चनपुरबाट हिँडेर न्यायको आशा लिएर आएका मिटरब्याज पीडित १९ औँ दिनमा धादिङको गल्छी गाउँपालिका र थाक्रे गाउँपालिकामा आइपुगेका छन् ।
मिटरब्याजीले दिएको पीडा र तनावलाई अन्त्य गर्ने अठोट सहित मिटरब्याज पीडित काठमाडौँमा आन्दोलन गरेर न्याय पाउने अठोट सहित आएको बताइएको छ । पश्चिम नवलपरासीस्थित सुस्ताका ६४ वर्षीय राम शुभक पीडितका न्यायको लागि आफू ज्येष्ठ नागरिक भएर पनि लागेको बताउनु भयो । मिटरब्याजीका पीडाका कारण उहाँले पत्नी गत वर्ष मृत्यु भएको दुखको कुरा समेत सुनाउनु भयो ।
अगाडि भागमा व्यानर सहित आन्दोलनमा आएको मिटरब्याज पीडितहरू जसरी पनि न्याय पाउने र आन्दोलन सफलतामा टुङ्याउने बताएका छन् । यसअघि चार पटकसम्म मिटरब्याज पीडितको आन्दोलनमा सहभागी भएर पनि समस्या समाधान नभएपछि उनीहरू यसपटक कष्टपूर्ण यात्राका लागि निस्किएर राजमार्गमा पैदल यात्रा गरिरहेका छन् ।
छोरालाई विदेश पठाउन मिटरब्याजी जगदिस कान्तसँग १ लाख ५० हजार ऋण लिएको र साहुलाई साँढे तीन कट्ठा जग्गा पास गरेर दिए । यति गर्दा पनि ३ लाख लिएको कागज बनाएर ९ लाख भएको भनेपछि तिर्न नसकेर पत्निको मृत्यु भएको कथा रामशुभकको छ । उहाँ र उाहाँजस्तै पीडितहरूको राजमार्गमा लर्को आएपछि गल्छीमा स्थानीयले मिनरल वाटर किनेर समेत खुवाउँदै आन्दोलन सफल पार्न शुभकामना दिएका छन् । कञ्चनपुरदेखि आएका पीडितहरू लघुवित्त खारेज, सामुहिक ऋण लगानीपछि परिवारमा समेत नैरास्यता र समस्या पैदा गरेकोले ऋण मनिाहाको माग गर्दै आएको पीडितहरू काठमाडौँ केन्द्रीत आन्दोलमा सहभागि हुन आउनुभएको हो ।
लघुवित्त तथा वित्तिय शोषण विरुद्धको सङ्घर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञावालीले हस्ताक्षर गर्नुभएको पर्चामा स्थानीय सामन्त्रीको रुपमा रहेको लघुवित्त संस्थाहरू खारेज, सामुहिक ऋण मिनाहा, आम गरिब किसानलाई निशुल्क ऋण दिने व्यवस्था, आवश्यकता र क्षमताको आधारमा काम र पारिश्रमिक दिने व्यवस्था, भूमिहिन तथा वित्तिय शोषणका पीडितहरूलाई मुआब्जाको व्यवस्था लगायतका माग गरिएको छ ।
गत वर्ष सरकारसँग पाँच बुँदे सम्झौता गरेको एक वर्ष पुग्नै लाग्दा आफूहरूका मागहरूको सम्बोधन नभएको र उल्टै विभिन्न सरकारी निकाय, अदालतले समेत मिटरब्याज कै पक्षमा लागेर फर्जी लिखतलाई वैधता दिन थालेको भन्दै मिटरब्याज पीडितहरू न्याय माग्दै राजमार्ग यात्रा गरेर काठमाडौँ केन्दीत आन्दोलमा सहभागि हुन जान लागेका छन् ।








