१० औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा इन्सेक र मानव अधिकार निगरानी समूह तनहुँले बिहीबार तनहुँ जिल्ला कारागारका कैदी बन्दीलाई पुस्तक प्रदान गरेका छन् ।

मानव अधिकार र साहित्यसँग सम्बन्धित करिब ३ दर्जन पुस्तकहरू इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई र मानव अधिकार निगरानी समूहका संयोजक रामलिला सुवर्णकारले कारागारका प्रमुख तिर्थ खनाललाई हस्तान्तरण गरेका छन् । कारागार प्रमुख खनालले पुस्तक लिँदै इन्सेकलाई धन्यवाद दिए ।

सो अवसरमा बोल्दै मानव अधिकार निगरानी समूहका संयोजक सुवर्णकारले प्रजातन्त्रको आन्दोलनमा जेल भित्रैबाट धेरै नेताहरूले उच्च शिक्षाको अध्ययन पूरा गरेको भन्दै कैदी बन्दीमा पनि पढ्ने बानीको विकास गराउन पुस्तक प्रदान गरिएको बताए । इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले कैदी बन्दीलाई उनीहरूको अधिकारको बारेमा जानकारी दिने र उनीहरूमा सकारात्मक सोचको विकास गराउने उद्देश्यले पुस्तक प्रदान गरिएको बताए ।
पुस्तक पाएपछि कैदी बन्दीहरू निकै खुसी भएका थिए । कारागारका प्रमुख तिर्थ खनालले पुस्तकको माध्यमबाट कारागार भित्रको वातावरण शान्त र सौहार्द बन्ने विश्वाससमेत व्यक्त गरे ।