हिउँदे समय लागे संगै जिल्लामा रहेका सरकारी कार्यालयहरू डेढ महिनादेखि कार्यालय प्रमुख विहीन भएपछि सेवाग्राहीलाई समस्या भएको छ ।
जिल्लामा अत्याधिक चिसो बढ्ने भएका कारण यहाँका कार्यालय प्रमुख जिल्ला बाहिर झर्ने गरेका हुन् । कार्यालयहरू प्रमुख विहीन भएपछि सेवाग्राहीले समस्या खेप्नु परेको हो ।
जिल्ला बाहिर गएका कार्यालय प्रमुखहरू एक देखि तीन दिने कार्यक्रमका लागि मात्रै गएको भए पनि हालसम्म फिर्ता भएका छैनन् । सङ्घ अन्तर्गतका कार्यालयहरुमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, हुलाक सेवा कार्यालय, मालपोत कार्यालय, नापी, हिल्दुङ्ग विधुत वितरण केन्द्र, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क, सिमकोट विमानस्थल, कोष तथा लेखा नियन्त्रण कार्यालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, स्याउ जोन र जिल्ला समन्वय समितिको कार्यालय रहेका छन् ।
त्यसैगरी कार्यालय प्रमुख विहीन भएका प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुमा स्वास्थ्य सेवा कार्यालय, डिभिजन वन कार्यालय, कृषि विकास कार्यालय, भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय, सामाजिक विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, प्रदेश लेखा इकाइ कार्यालय रहेका छन् ।
त्यस्तै सिमकोट गाउँपालिका पनि प्रमुख विहीन बनेको छ । उक्त कार्यालय प्रमुख विहिन बनेपछि अधिकांश सेवाग्राही समस्यामा पर्दै आएका छन् ।
आर्थिक वर्ष ०८०।८१ को चाटागे खाने पानीको सम्झौताका लागि लागि सिँचाइ तथा ऊर्जा विकास कार्यालयमा प्रमुख नभएपछि सम्झौता कार्य प्रभावित भएको स्थानीय डवले शाहीले बताउनु भयो । उहाँले उक्त कार्यालयमा जाँदा प्रमुख जिल्ला बाहिर गएको हुँदा अधिकांश सेवाग्राही रित्तै फर्कनु परेको उहाँले बताउनुभयो । सिमकोट गाउँपालिकाबाट हुने विभिन्न सेवाका लागि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्पुर्ण आर्थिक सम्बन्धि हुने कार्य प्रभावित भएको सेवाग्राही अंगलाल महतले गुनासो गर्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुबेदीले सङ्घ तथा प्रदेश सरकारका जिल्ला स्थित संरचनाहरूमा दुई दर्जन बढी सरकारी कार्यालयहरू प्रमुख विहीन अवस्थामा रहेको बताउनुभयो । केही कार्यालय प्रमुख जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर गएको भए पनि केही भने कुनै जानकारी नदिएरै गएको उहाँले बताउनु भएको छ । त्यसरी कार्यालयलाई प्रमुख विहीन बनाएर जिल्ला बाहिर गएका कार्यालय प्रमुखहरू डेढ महिनासम्म जिल्लामा नफर्किदा सेवाग्राहीले सास्ती खेप्नु परेको सुवेदीको भनाइ छ ।