चितवनमा द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या कति होला ? यसको सहि तथ्याङ्क न राज्य सँग छ न गैरराज्य पक्षसँग नै छ । सरकारले ३७, गैरसरकारी निकाय रेडक्रसले ३१ जना बेपत्ता रहेको तथ्याङ्क सार्वजनिक गरिरहँदा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भने ५५ जनाको निवेदन परेको छ ।

राज्यको आधिकारिक निकाय मानिएको शान्ति तथा पूनर्निर्माण मन्त्रालय अन्तर्गतको स्थानीय शान्ति समितिमा ३७ जना बेपत्ता रहेको सूची छ । यसमा एक जना मात्र महिला रहेकी छन् ।
दुइ वर्षअघि गठन भएको बेपत्ता आयोगले मागेको निवेदनका आधारमा चितवनमा ५५ जना बेपत्ता भएको भनी निवेदन परेको छ । स्थानीय शान्ति समिति चितवनका अनुसार जिल्लामा ५५ जनाले निवेदन दिएका छन् । शान्ति समितिमा जम्मा ३७ जनाको तथ्याङ्क रहेकोमा आयोगमा ५५ जनाले निवेदन दिएपछि बाँकी १८ जनाको अवस्था के हो भन्ने अन्योलता उत्पन्न भएको छ ।
रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसिआरसिले जनाए अनुसार चितवनमा ३१ जना मात्रै बेपत्ताको सूचीमा छन् । विस्तृत शान्ति सम्झौता भएको ११ वर्षसम्म पनि बेपत्ता पारिएका व्यक्तिको यथार्थ सूची नआउँदा तथ्याङ्कहरू विवादित बन्दै आएका छन् ।
‘रून पनि बिर्सियौँ’
द्वन्द्वको समयमा आफन्त बेपत्ता भएकाहरू आफूहरूको आँखाबाट आँसुसमेत आउन छाडिसकेको बताउँछन् । ‘१७ वर्षभयो श्रीमान बेपत्ता हुनुभएको ।’-भरतपुरकी सीता मरहठ्ठाले भनिन्-‘पहिलेपहिले खहरे भेल जसरी आँसु बगे रूँदारूँदा आजभोलि आँसु सुकिसक्यो ।’
काठमाडौँ बसेर पढ्दै गरेको २० वर्षे छोरालाई सेनाले गिरफ्तार गरी अवस्था अज्ञात पारेपछि ६० वर्षीया सरस्वती अधिकारी आफूलाई संसारकै पीडित नारी भएको बताउँछिन् ।
फर्किए बेपत्ता पुरूष
बेपत्ताको सूचीमा रही सरकारी राहतसमेत पाएका माडी नगरपालिका गर्दीका नारायण रेग्मी भने १२ वर्षपछि घर फर्किएका छन् । नेपाली सेनाको सिंहनाथ गणमा कार्यरत रहँदा ०६१ सालमा उनी विद्रोही पक्षबाट बेपत्ता पारिएको बुवा खेमराज रेग्मीले बताएका थिए । ‘धम्क्याउने, त्रास देखाउने गरेछन् ।’-बुवा खेमराजले भने-‘कसरी कसरी फुत्केर भागेछ । भारतमा रहेको छोरो १२ वर्षपछि पोहोर घर आयो ।’