देवघाट गाउँपालिका– ४ का वडा अध्यक्ष मित्रलाल गुरुङले आफूमाथी आक्रमण भएको भन्दै जिउधनको सुरक्षा गरि पाउन भन्दै माग गर्नु भएको छ ।
देवघाट गाउँपालिकालाई माघ २४ गते निवेदन पत्र बुझाउँदै वडा अध्यक्ष गुरुङले पुर्व वडा अध्यक्ष पदम बहादुर गुरुङको योजनामा आफूमाथि आक्रमण भएको भन्दै जिउधनको सुरक्षा गर्न माग गर्नु भएको हो ।
गत माघ १० र ११ गते देवघाट गाउँपालिका स्तरीय युवा तथा खेलकुँद विकास समितिको आयोजना तथा व्यवस्थापनमा राष्ट्रिय आधारभूत विद्यालय काफलडाँडाको प्राङ्गणमा वडा नम्बर ४ स्तरीय प्रथम वडा अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता भएको थियो । सो प्रतियोगिताको शिर्षक प्रति असन्तुष्टि जनाउँदै सो कार्यक्रममा आफूलाई इज्जत नगरेको तथा सरसल्लाह समेत नलिएको भन्दै पुर्व वडा अध्यक्ष पदम बहादुर गुरुङ्गले फोन मार्फत असन्तुष्टि व्यक्त गरेको वडा अध्यक्ष मित्रलालले बताउनु भयो ।
यसैक्रममा गत माघ १७ गते छिमेकीको छोरीको विवाहको कार्यक्रममा उपस्थित भएकोमा राती उक्त खेलकुँद कार्यक्रमको विषयलाई लिएर आफू र देवघाट युवा तथा खेलकुँद विकास समितिका उपाध्यक्ष योगेन्द्र गुरुङमाथि पूर्व वडाध्यक्ष पदम गुरुङका भाई सागर गुरुङ तथा उहाँका भान्जा नाता पर्ने टार्जन गुरुङ लगायतका व्यक्तिहरुले आक्रमण गरेको वडा अध्यक्ष गुरुङले बताउनु भयो ।
वडा अध्यक्षको हैसियतमा वडा नम्बर ४ मा आयोजना हुने सबै कार्यक्रम र प्रतियोगितालाई सफल पार्ने मुख्य दायित्व आफ्नो रहेको भन्दै उहाँले उक्त प्रतियोगिताको विषयमा आफूमाथि आक्रमण भएको बताउनु भयो । उक्त आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै गाउँपालिका कार्यालयमा निवेदन दिएपनि गाउँपालिकाबाट हालसम्म कुनै सुनुवाई नभएको उहाँले बताउनु भयो ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उक्त घटनाको बारेमा आफुले जानकारी लिने क्रममा रहेको भन्दै दोषीलाई कारबाहीको लागि पहल गर्ने बताउनु भयो ।

