१९ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर देहव्यपारमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेहरुमा लुम्बिनी साँस्कृतिक नपा–९ पिपराका ३५ वर्षीया हसिनाखातुन र ४७ वर्षीया मोमिना खातुनलाई माघ ९ गते लुम्बिनीबाटै गिरफ्तार गरेको छ भने सोही ठाउँका २१ वर्षीय अति उल्लाह दर्जी र २१ वर्षीय सुहेल पठान विरुद्ध माघ ५ गते उजुरी दर्ता भएको छ ।
पीडितलाई आरोपितले मङ्सिर ५ गते राम्रो काम लगाइदिने प्रलोभन देखाएर यौन कार्यमा लगाएको भन्दै पीडितले माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडितले दिएको उजुरीको आधारमा कारवाही अगाडि बढाएको र फरार आरोपितहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ५ गते नै भीम अस्पताल, भैरहवामा गरिएको अस्पतालले जनायो।