जिल्ला प्रशासन कार्यालयले ०८० माघ १४ गतेदेखि आगामी दुई महिनासम्म लागु हुने गरी मन्थलीको मुख्य प्रशासनिक केन्द्र र त्यसको आसपास प्रदर्शन गर्न नपाउने गरी दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम माघ १४ गते विज्ञप्ति मार्फत दुई महिनासम्म धर्ना, जुलुश र प्रदर्शन गर्न नपाउने आदेश जारी गर्नुभएको हो ।
जिल्ला सदरमुकाम मन्थली नगरपालिका-१ स्थित राष्ट्रिय वाणिज्य बैँकदेखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैँक जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा माघ १४ गतेदेखि दुई महिनाको लागि सो आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।
जिल्लाको मुख्य प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा भेला, अनशन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबिच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने वा हुलदङ्गा वा अशान्ति हुन सक्ने सम्भावना रहेकोले निषेधाज्ञा जारी गरिएको उल्लेख छ । त्यस्तो कार्यले समग्र शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्नुको साथै सर्वसाधारण नागरिकको सेवा प्रवाहमा असर पर्ने कुरालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरिएको विज्ञप्ति मार्फत जनाइएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले मङ्सिर ४ गते विज्ञप्ति जारी गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्मलाई एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो भने जिल्ला प्रशासन कार्यालय, ललितपुरले ०८० मङ्सिर ५ गते विज्ञप्ति जारी गर्दै आगामी ६ महिनासम्म लागु हुने गरी पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालय र मन्त्री निवास आसपास प्रदर्शन गर्न नपाउने गरी ६ महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो ।