इलाम जिल्ला,माई नगरपालिका-१ महमाई स्थायी घर भइ अर्जुनधारा नगरपालिका-६ की ५० वर्षीया माया पुलामी मगरको हत्या गरेको आरोपमा प्रहरीले बिर्तामोड नगरपालिका-८ गरामनी स्थायी घर भइ बिर्तामोड नगरपालिका-५ मा डेरा गरी बस्दै आएका ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईँलाई गिरफ्तार गरेको छ ।
ज्यामी काम गर्दै आएका प्रसाईँले ०८० माघ ७ गते माया पुलामीको ढुङ्गाले प्रहार गरी हत्या गरेको आरोपमा आरोपितालाई माघ १३ गते विर्मामोड बजारबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, विर्तामोडका डिएसपी सुरज कार्कीले बताउनु भयो ।
प्रारम्भिक बयानका क्रममा आरोपितले ‘माघ ६ गते माया पुलामीसँग शारिरीक सम्बन्ध राखेको र माघ ७ गते आफूले विवाहको प्रस्ताव राखेपश्चात मायाले दाहिने आँखामा हातले हिर्काएपछि आवेशमा ढुङ्गा प्रहार गरी हत्या गरेर अर्जुनधारा नगरपालिका-६ पुलचौक नजिक शव छोडेर हिँडको’ बयान दिएको डिएसपी कार्कीले बताउनु भयो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा माघ १४ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।
शवको पोष्टमार्टम मेची अस्पतालमा माघ ८ गते गरी सोही दिन पीडित पक्षले शव बुझेको प्रहरीले जनाएको छ ।