१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाँचथर जिल्ला, हिलिहाङ गाउँपालिका-२ स्थायी घर भइ बुद्धशान्ति गाउँपालिका-४ बस्दै आएका २१ वर्षीय गोपाल अधिकारीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवस्तवको ०८० माघ ९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ४ लाख रुपियाँ जरिबाना र १ लाख रुपियाँ पीडितले पाउने गरी कसुरदारबाट भराउन आदेश भएको अदालतका सूचना अधिकारी गायत्री बाहृकोटीले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७९ वैशाख २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध वैशाख २४ गते इलाका प्रहरी कार्यालय, धुलावारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई वैशाख २४ गते गिरफ्तार गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०७० जेठ १६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको जेठ १७ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७९ वैशाख २३ गते गरिएको थियो ।