INSEC Online

📅 २०८३ जेष्ठ २१

छाउपडी सबैको साझा समस्या भएको सरोकारवालाको भनाई

महिनावारी हुँदा घरभन्दा अलग्गै गोठमा बसाल्ने छाउपडी प्रथा सामाजिक कुरीति र विसङ्गती भएको सरोकारवालाहरूले बताएका छन् ।

महिला बालबालिका कार्यालय, सामाजिक सेवा केन्द्र (सोसेक), राधा पौडेल फाउण्डेशन, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लगायतका संस्थाहरूको आयोजनामा भदौ १० गते दैलेख सदरमुकाममा भएको कार्यक्रममा महिलाले विभेद भोगे पनि यो सबैको साझा समस्या भएको कार्यक्रमका सहागीहरूले बताएका हुन् ।

महिला महिनावारी हुनु जैविक प्रक्रिया भएको र महिनावारीपछि मात्र प्रजनन् सम्भव हुने भएकोले यसलाई हषर्वा उत्सवको रूपमा लिनुपर्नेमा धार्मिक अन्धविश्वास, सामाजिक कूचलनका कारण पाप वा अपवित्र भनी व्याख्या गरिएकोमा छाउपडी कूप्रथा विरोधी अभियानकी अभियानकर्मी राधा पौडेलले आपत्ति जनाइन् ।

महिनावारीको बेला छोइछाई भएको वा यस्तै अरू ‘गल्ती’हरूप्रति पश्चाताप व्यक्त गर्ने र ३ सय ६५ पटक नुहाउने पुरातन प्रचलन अवैज्ञानिक र अन्धविश्वास मात्र भएको पौडेलले टिप्पणी गरिन् ।

दुई महिनाअघि छाउगोठमा सर्पले टोकेर चामुण्डा बिन्ध्रासैनी नगरपालिका-६ लैनचौरकी १९ वर्षीया तुलसी शाहीको ज्यान गएको घटनापछि सिर्जना भएको परिस्थिति र सामाजिक जागरणको अवस्था बुझ्न उनले आफ्ना ८० वर्षका पिता देवीप्रसाद पौडेलसमेत पाँच दिन त्यही चामुण्डा गाउँमा बिताएका थिए ।

पिता देवीप्रसाद पौडेलले राधाले स्टाफ नर्स पढ्नु अघि महिनावारीको विरोध गरेपनि आफूले धार्मिक विश्वासको कुरा सुनाउने गरेको तर पछि छोरीले स्वास्थ्य विज्ञानको तर्क दिएपछि ८० वर्षको हुँदा पनि उनकै अभियानमा सहयोगी बनेको सुनाए ।

अन्य

भिडियो