INSEC Online

📅 २०८३ जेष्ठ २१

मुसहर बस्तीमा शिक्षाको अवस्था अनुगमन

419536123_122116961030157240_3368935143881258439_n

मुखियापट्टी मुसहरनीया गाउँपालिका–३ तुल्स्याही जब्दी टोलमा रहेको २२ घर मुसहर बस्तीको शिक्षा अवस्थाको बारेमा मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादव, सोही गाउँपालिका अध्यक्ष जयकुमार यादव, इन्सेक मधेश प्रदेश संयोजक राजु पासवान र फियान नेपालका प्रदेश संयोजक नन्दनी यादव लगायतको टोलीले ०८० माघ ४ गते स्थलगत अनुगमन गरेको छ ।

२२ घरपरिवार रहेको उक्त मुसहर बस्तीमा उच्च शिक्षा हासिल गरेका कोही पनि छैन भने एसइइ पास गरेका पनि छैनन् । केहि मुसहर परिवारका बालबालिकाहरु विद्यालयमा भर्ना भएका छन् । तर, स्कुल भने जाँदैनन् ।

विद्यालय जान रहर छ तर आफूसँग चप्पल र कापि, कलम नभएकोले विद्यालय नजाने गरेको सोही वस्तीका ६ वर्षीया अनिषा सदाले बताउँछिन् ।

स्थानीय ५३ वर्षीया विरमादेवी सदाका अनुसार मुसहर समुदायमा निकै समस्याहरु छन्, घर छैन, रोजगारी छैन, भएको छाप्रो घरमा कोचिएर बस्नु परेको अवस्था छ । उहाँले भन्नु भयो–“बालबालिकाहरु विद्यालय नजानुमा अभिभावकको पनि कमजोरी छ, तर लत्ता कपडा, कापि र कलम लगायतका समस्याका कारण पनि बालबालिकाहरु विद्यालय जाँदैन ।”

स्थानीय ५१ वर्षीया राजकुमारी देवी सदाले भन्नु भयो–“रोजिरोटी छैन, आर्थिक रुपले कमजोर रहेका कारण बालबालिकाहरु विद्यालय पठाउन समस्या रहेको छ ।”

झुपडीमा बसेका छौँ, गरिवी छ, कसरी बालबच्चालाई पढाउने ? स्थानीय मिथलेश सदाको भनाई थियो।

अनुगमनका क्रममा शिक्षा तथा संस्कृति मन्त्री यादवले मधेश प्रदेशका अधिकांश दलित बस्तीका बालबालिकाहरु विद्यालय जान नसकेको अवस्था रहेकोले मधेश प्रदेश सरकारले साक्षर दलित योजना ल्याएको बताउनु भयो ।

मधेश प्रदेशमा बिजक परियोजना अन्तर्गत दलित बालबालिकाहरुलाई लक्षित गरी शिक्षाका लागि दलित बस्तीहरुमा ५ सय शिक्षक दरबन्दी राख्ने प्रदेश सरकारको योजना रहेको र यसका लागि कार्यविधि बनाउने चरणमा रहेको मन्त्री यादवले बताउनु भयो । मन्त्री यादवका अनुसार शिक्षकले दलित बस्तीका बालबालिकाहरुलाई होम ट्युशन पढाउने र ती दलित विद्यार्थीहरुलाई विद्यालयसम्म लग्ने कार्य गर्नेछ ।

मुखियापट्टी मुसहरनीया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले दलित बस्तीका बालबालिकाहरु विद्यालयमा भर्ना भएर नियमित अध्ययन गरे ती बालबालिकाहरुका लागि पालिकाले छुट्टै विशेष कार्यक्रम ल्याउने बताउनु भयो ।

चालु आर्थिक वर्षमा १० घरधुरी मुसहरको दुइ कोठे पक्की घर निर्माणको प्रक्रिया सुरु भइसकेको उल्लेख गर्नुहुँदै अर्को वर्ष बाँकी रहेको घरधुरीका मुसहर परिवारलाई पक्की घर पालिकाले बनाइदिने बताउनु भयो ।

उक्त मुसहर वस्तीमा साढे ३ कठ्ठा जग्गामा २२ घरपरिवारका लगभग २ सय जना बसोबास गर्दै आएका छन् । सायौँ वर्षदेखि गाउँब्लकको जग्गामा बसोबास गर्दै आएका मुसहर समुदायका २२ घर परिवारले भोगचलनकै आधारमा बसोबास गर्दै आएका छन् ।

मानव अधिकारकर्मीहरुको नियमित पहलमा गाउँब्लकको जग्गा नापी कार्यालयद्वारा नाप नक्सा गरि सम्बन्धित व्यक्तिलाई लालपुर्जा दिने गरी नापी गरिएको छ । तर, हालसम्म लालपुर्जा नपाएको उनीहरुको गुनसा छन् ।

419470127_1103896047302672_2365437429776191043_n 419606512_1030085728224875_759561943616635339_n 419527154_2754301568061658_519720120360010954_n 414534934_1027875794953099_2347544903030022406_n

अन्य

भिडियो